काठमाडौं । नेपालले हालसम्म विश्वका ४१ देशसँग उडान सम्झौता गरेको छ । उडान सम्झौता भएका उक्त देशमा बिना रोकतोक नेपाली वायुसेवा कम्पनीहरुले उडान भर्न पाउँछन् ।
नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गर्दा एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये नेपाली जहाजले ११ देशमा उडान भर्ने गरेका छन् भने बाँकी देशमा उडान गर्न सकेका छैनन् ।
सन् १९९५ देखि २०२२ सम्म एकल र बहु उडान गर्ने गरी सम्झौता गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, सम्झौता गर्ने काम नगर्ने परिपाटीले नेपाली वायुसेवा कम्पनीहरु कमजोर बन्दै गएका छन् ।
विशेषगरी समयानुकूल व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा राष्ट्रिय ध्वजावाहक जहाजले सम्झौता गरेका देशको आकाशसम्म उडान भर्न सकैका छैनन् । लामो दूरीमा उडान भर्ने क्षमताको विमान अभाव त छँदै छ, विदेशी राष्ट्रले समेत उडान अनुमति नदिँदा उडान भर्न समस्या हुँदै आएको निगमका उच्च अधिकारीहरु नै बताउँछन् ।
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । अष्ट्रेलिया, ओमान, जोर्डन, कतार, कम्बोडिया, बेलायतलगायतका देशमा उडान सम्झौता भएको भएपनि नेपाली एयलाइन्स कम्पनीले भने अहिलेपनि कतार, मलेसिया, हङकङ, चीन, युएई, बंगलादेश, साउदी, जापानको नारिता, चीन तथा भारतमा मात्रै उडान गरिरहेका छन् ।
हाल नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने नेपाली हवाई कम्पनीहरुमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयर रहेका छन ।
यी हुन हवाइ सम्झौता गरेका देश
मन्त्रालयको तथ्यांकअनुसार नेपालले सबैभन्दा पहिले सन् १९९५ मा पाकिस्तानसँग उडान सम्झौता गरेको थियो । बहु उडानका रुपमा नेपालले गरेको सम्झौतामा सन् २०१५ को अक्टोबरमा पुनः उडान सम्झौता पुनरवलोकन गरिएको थियो । सम्झौताअनुसार नेपालले वार्षिक रुपमा १ लाख ९७ हजार ६ सय सिट क्षमता बराबरको उडान भर्न पाउँछ ।
नेपालले अस्ट्रिया, बहराइन, बङ्गलादेश, भुटान, बु्रनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, इन्डिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाउ, मलेसिया, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, नेदरल्यान्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड, कम्बोडिया, अष्ट्रेलिया, र बेलायत लगायतका देशमा उडानको सम्झौता गरेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले ६ देशका ८ स्थानमा मात्रै उडान भर्दै आएको छ । निगमले हाल १ सय ५८ सिट क्षमताको दुईवटा एयरबस ३२० (न्यारोबडी) र २ सय ७४ सिट क्षमताको दुईवटा एयरबस ३३० (वाइडबडी) गरी ४ वटा एयरबसले, दिल्ली, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दुबई, ब्यांग्लोर, कतारको दोहा, साउदीको रियाद, जापानको नारितामा उडान गर्दै आएको छ ।
नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले विभिन्न देशका ११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानमा गर्दै आएको छ । हिमालयले हाल युएईको आबुधाबी र दुबई, साउदीको दमाम र रियाद, मलेसियाको क्वाललाम्पुर, कतारको दोहा, दुबई, बंगलादेशको ढाका, चीनको बेइजिङ र कुनमिङ र चोन्चीङ र कुबेतमा उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली उडानका लागि लामो समयदेखि उडानको अनुमति मागेतापनि अहिलेसम्म पाएको छैन ।
आन्तरिक उडानमा एकछत्र राज गरेको निजी क्षेत्रको हवाइ सेवा कम्पनी बुद्ध एयरले भारतको बनारसमा उडान गर्दै आएको छ । यसअघि भारतकै कोलकता उडान गरेको बुद्धले कोरोना महामारीका कारण कोलकाता उडान बन्द गरेको थियो ।
आगामी जनवरी १ तारिखबाट सञ्चालनको तयारी थालिएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले कोलकातामा पुन उडान सुरु गर्ने तयारी थालेको छ । यस्तै, पोखराबाटै बुद्धले देहरादुनमा समेत उडानको तयारी थालेको छ । हाल बुद्धले ७२ सिट क्षमतको एटिआरले अन्तराष्ट्रिय उडान गर्दै आएको छ ।
चीनले दिएन ‘ग्रिन सिग्नल’
नेपाल वायुसेवा निगमले लामो समयदेखि चीन उडानका लागि अनुमति माग्दै आएतापनि चीन सरकारले हालसम्म उडानकोे अनुमति दिएको छैन् ।
निगमले सन् २०१४ मा पहिलोपटक नेपाली व्यापारी बाक्लै आउजाउ हुने चीनको ग्वान्जाओ सहरमा उडान अनुमति मागेको थियो । तर हालसम्म पनि चीनले अनुमति दिएको छैन । सरकारी ध्वाजावाहक कम्पनीले अनुमति माग गरेको आठ वर्ष वितिसक्दा समेत चीनले बिभिन्न बाहाना बनाउँदै अनुमति रोकेको हो ।
निगमलाई उडान अनुमति नदिएको चीनका वायुसेवा कम्पनीले हाल दैनिक उडान गर्दै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांक अनुसार हाल एयर चाइना, चाइना साउथन र चाइना इष्टनले दैनिक उडान गर्दै आएका छन् ।
नेपाल–चीन हवाइ सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन् ।
बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाओ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन् । गन्तव्य हुँदाहुँदै पनि निगमले उडान अनुमति पाउनसकेको छैन ।
ईयुको कालोसूचीमा पर्दा समस्या
सन् २०१३ देखि युरोपियन युनियन (ईयु) ले सम्पूर्ण नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको छ । नेपालले हवाई सेवा सम्झौता गरेकामध्ये केही देशमा युरोपियन मुलुकमा युरोपियन युनियन (ईयु) को कालोसूचीमा भएका कारण निगमले उडान भर्न सकेको छैन ।
अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपालका तीन एयरलाइन्सले हवाइ सम्झौता भए पनि सबै देशमा उडानका लागि पर्याप्त मात्रामा जहाज तथा यात्रु नभएको भन्दै उडान भर्न नसकिएको बताउँदै आएका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवा कम्पनीसँग पर्याप्त मात्रामा जहाज नहुँदा उडान गर्न नसकेको जनाएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी नेपालले हवाई सेवा सम्झौता गरेका देशमा जहाज नभएकै कारण नेपाली वायुसेवा कम्पनीले उडान भर्न नसकेको दाबी गर्छन् ।
‘अन्तर्राष्ट्रिय रुपमा उडान गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग पर्र्याप्त मात्रामा जहाज नै छैनन्, जहाज नै छैनन्, कसरी लामो दुरीका गन्तव्यमा उडान भर्न सक्छन्,’ उनले भने ।
यता निगमका प्रवक्ता अर्चाना खड्का लामो दुरीका उडानका लागि जहाज अभावकै कारण उडान भर्न नसकिएको बताउँछिन् । ‘हामीसँग न्यारोवडी र वाईडबडी जहाज सिमित मात्रामा छन्, जहाज सिमित हुँदा गन्तव्य विस्तारमा समस्या भयो’, उनले भनिन ।