काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । ४ वर्षे कार्यकाल सकिन करिब २ महिना बाँकी रहदा उनले पदबाट राजीनामा दिएका हुन् ।
कोभिड महामारीको बेलामा कति दौडनु भनेर कार्यकाल सकिन लाग्दा आफूले राजीनामा दिएको पाण्डेले जानकारी दिए ।
‘कार्यकाल सकिन २ महिनाजति मात्रै समय बाँकी थियो, त्यो भनेको कार्यकाल पूरा भए जस्तै पनि हो, अब आफै केही गरौं कि भन्ने सोँच पनि बनाएको छु, त्यसैले अस्ति (कात्तिक १७) गते राजीनामा दिएँ,’ पाण्डेले विकासन्युजसँग भने ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका पाण्डे चार्डर्ट एकाउन्टेन्ट पनि हुन् । अब अडिटको काममा लाग्ने वा अन्य कुनै व्यवसाय गर्ने भन्नेमा आफू परामर्शमै रहेको उनले बताए ।
पाण्डेलाई निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउन चाहेका थिए । गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । तत्कालिन सरकारले पाण्डेसँगै सिफारिसमा परेका शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरमा नियुक्त गरेपछि पाण्डे डेपुटी गभर्नर हुन पाएका थिएनन् ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएको केही समयपछि उनी सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनी जीवन बिमक संघको अध्यक्ष पनि हुन् ।