१४ लाखले गरे कोरोना बीमा, आइतवारदेखि फास्ट ट्रयाकमा दाबी भुक्तानी हुने

<p>काठमाडौं । गत बुधबार (असोज २१ गते) सम्ममा १४ लाखभन्दा बढीले कोरोना बीमा गरेका छन् । बीमा समितिका अनुसार गत बुधबारसम्म १ लाख ४६ हजार ६ सय ९२ बीमा लेखबाट १४ लाख १ हजार ६ सय ९ जनाले कोरोना बीमा गराएका छन् । यस्तो बीमाबाट ८० करोड २१ लाख १५ हजार ४ सय ८९ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । गत बुधबार (असोज २१ गते) सम्ममा १४ लाखभन्दा बढीले कोरोना बीमा गरेका छन् ।

बीमा समितिका अनुसार गत बुधबारसम्म १ लाख ४६ हजार ६ सय ९२ बीमा लेखबाट १४ लाख १ हजार ६ सय ९ जनाले कोरोना बीमा गराएका छन् । यस्तो बीमाबाट ८० करोड २१ लाख १५ हजार ४ सय ८९ रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यो अवधिमा सबैभन्दा बढी बीमालेख सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीले विक्री गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २ लाख ५९ हजार ३ सय ३५ बीमा लेखबाट १५ करोड ५७ लाख २२ हजार २ सय ७ रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, शिखर इन्स्यारेन्स कम्पनीले २ लाख ४ हजार ६ सय ९० बीमा लेख विक्री गरेर ११ करोड २३ लाख २७ हजार ८ सय रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्यारेन्स कम्पनीले १ लाख ३१ हजार १ सय ३२ बीमा लेख विक्री गरेर ७ लाख ५८ लाख ४८ हजार ७ सय ३५ रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सबैभन्दा कम कोरोना बीमा लेख विक्री गर्नेमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी छ । सानिमाले अहिलेसम्म १७ हजार ७ सय २७ बीमा लेख विक्री गरी १ करोड १ लाख ३२ हजार ४ सय रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

पर्सिदेखि फास्ट ट्रयाकमा भुक्तानी

कोरोना बीमाको दाबी भुक्तानीमा केही ढिलाइ भएको गुनासो आइरहेको छ । अबदेखि यस्तो गुनासो नआउने गरी फास्ट ट्रयाकमा भुक्तानी हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘केही प्राविधिक कारणले दाबी भुक्तानीमा केही ढिलाइ भएको थियो, पर्सि (असोज २५ गते) देखि फास्ट ट्रयाकमा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाएका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

कोरोना बीमा दाबी भुक्तानीमा निश्चित रकमभन्दा बढी दायित्व सिर्जना भएमा सरकारले भुक्तानी दिने कोरोना बीमा कार्यविधि बनाइएको छ । सो कार्यविधि अनुसार सरकारले दाबी भुक्तानी गर्न हुँदैन भन्दै सर्वाेच्च अदालतमा मुद्दा परेपछि दाबी भुक्तानीमा केही समस्या आएको थियो ।

सर्वाेच्चले सो विषयमा छलफलका लागि दुबै पक्षलाई असोज २६ गते बोलाएको छ ।

Share News