काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीलाई लिएर अहिले केही हल्ला र चर्चा चलेका छन् । पुनर्बीमा नभएको कारण कोरोना बीमाको दाबी भुक्तानी नपाइने, सबै बिमितलाई दाबी भुक्तानी दिए कम्पनी टाट पल्टिने भन्नेसम्मका हल्ला पनि बजारमा चलेका छन् ।
कोरोना बीमा पोलिसीको सन्दर्भमा पछिल्लो समय केही टिकाटिप्पणीहरु भइरहेका छन् । धेरै जनामा संक्रमण देखिएर ठूलो परिमाणको रकम भुक्तानी गर्नुपरे कम्पनीहरुले दाबी भुक्तानी गर्न नसक्ने र बनाइएको कार्यविधि अनुसार सरकारले भुक्तानी नगर्ने जस्ता कारण देखाएर दाबी भुक्तानीमा संसय पैदा गरिएको छ ।
पीसीआर पद्धतिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएमा १ लाख र ५० हजार रुपैयाँ पाइने गरी ल्याइएको दुई प्रकारको बिमांक रकमको कोरोना बीमा बीमाको सिद्धान्त विपरित भएको टिकाटिप्पणी पनि भएको छ । तर, समितिले भने संक्रमितलाई केही हदसम्मको आर्थिक राहत पुगोस भन्ने अभिप्रायले यस्तो बीमा पोलिसी ल्याएको थियो ।
तरपनि कोराना महामारी नै आफै विश्वमा नै नौलो किसिमको रोग भएको र यसको फैलावट तिव्र गतिमा छ । वृद्ध अवस्था तथा बिरामी भएका व्यक्तिहरुमा संक्रमण भए ज्यानै जानेसम्मको जोखिम अधिक रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
नेपालमा कोरोना भाइरस एकै पटक तिव्र गतिमा फैलियो भने नेपालमा बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन सक्लान कि नसक्लान भन्ने चिन्ता र चासो नै अहिले सबैभन्दा प्रमुख भएर आएको छ ।
कोरोना बीमाको लोकप्रियता अत्याधिक रहेको विक्री भएको पोलिसी संख्याले पनि देखाएको छ । छोटो समयमै यो बीमालेखको लोकप्रियता बढेका कारण पनि दाबी भुक्तानीप्रति शंका गरिएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा गराउने भनेकै आर्थिक जोखिम रक्षावरणको लागि भएकोले कोरोना बीमाको दाबी भुक्तानी नपाइने भन्ने कुरै नहुने बताउँछन् । कुनै विशेष कारणले कुनै समयमा सामान्य ढिलाई हुदैमा दाबी भुक्तानी नै नपाइने भयो कि भनेर आत्तिनु नपर्ने उनको भनाइ छ ।
‘आफ्नो कागजात र विवरण मिलाएको अवस्था बिमितले दाबी भुक्तानी पाउँछन्, यो बीमाको सिद्धान्त हो, कुनैपनि बीमा प्रोडक्टको लागि यही सिद्धान्त लागू हुन्छ, कोरोना बीमा पनि एउटा प्रोडक्ट भएकाले एकैपटक महामारी फैलियो भने पनि बीमा गराएका सबैले पैसा पाउँछन्, यसमा चिन्ता गर्नु वा शंका गर्नुपर्ने केही कारण छैन,’ कार्यकारी निर्देशक पौडेलले भने ।
जुन प्रकारको जोखिमको आर्थिक रक्षावरणका लागि बीमा गराइएको हुन्छ, त्यस्तो जोखिम आइपर्ने वित्तिकै प्रक्रिया पुर्याएर दाबी भुक्तानी पाइन्छ भनेर बीमा गराइने भएकोले पैसा नपाउने भन्ने कुनै नहुने उनको भनाइ छ । तर, प्रकृयागत रुपमा जादा, धेरै संख्यामा दाबी पर्दा कुनै बेला २/४ दिन ढिलो/चाडो हुनसक्ने भएपछि सकेसम्म चाढो भुक्तानीको लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिने गरिएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कोरोना बीमा गराइसकेका बिमितहरुले दाबी भुक्तानी पाउँन कुनै समस्या नभएको बताए । कोरोना महामारी तिव्र रुपमा फैलिएर ठूलो परिमाणको दाबी भुक्तानी गर्नु पर्ने अवस्थामा कम्पनीहरुले मात्रै नसक्ने अनुमान गर्दै पुनर्बीमा कम्पनी, बीमा समिति तथा सरकारले रकम भुक्तानी गर्ने गरी सीमा नै कायम गरिएको उनको भनाइ छ ।
‘महामारीको समयमा बिमितलाई समस्या पर्ला भनेर नेपाल सरकार, बीमा समिति, अर्थ मन्त्रालय तथा बीमा कम्पनीहरुको समन्वयमा दाबी भुक्तानी गर्ने सीमा र दायित्व निर्धारण गरिएको छ, राज्यले अन्तिम दायित्व व्यहोर्ने भनेकै छ, यति तयारी गरेर ल्याइएको कोरोना बीमाको पनि दाबी भुक्तानी पाइदैन भनेर शंका गर्नु आवश्यक छैन,’ बिमक संघका महासचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।