काठमाडौं । बीमा समितिको अध्यक्ष पद खाली हुन ३ महिना बाँकी छ । उक्त पदका आकांक्षीहरु प्रतिस्पर्धामा उत्रेका छन् । बीमा कम्पनीहरुको नियामक संस्थाको कार्यकारी अध्यक्ष पदमा पुग्न आकांक्षीहरु नेताहरुलाई खुशी बनाउनेदेखि आफ्ना प्रतिस्पर्धीलाई खुइल्याउने खेलमा लागेका छन् ।
अध्यक्ष पदका लागि चिरञ्जीवि चापागाईसहित नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाँई, बीमा विज्ञ डा.रविन्द्र घिमिरे, नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेल, पुर्नबीमा कम्पनीका सञ्चालक रमेश लम्साल, बीमा समितिकाे कामु कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की, नेपाल स्टक एक्स्चेञ्जका पूर्व अध्यक्ष टंक पनेरु लगायत दौडधूपमा छन् ।
सरकारले जिम्मेवारी दिए आफू दोस्रो कार्यकालको लागि काम गर्न इच्छुक रहेको अध्यक्ष चापागाईले बताउँदै आएका छन् । गतिहिन अवस्थाको बीमा क्षेत्रलाई गतिशिल बनाएको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गराएको, जीवन बीमा क्षेत्रलाई सही ट्रयाकमा ल्याउन सफल भएको तर निर्जीवन बीमा बजारमा उल्लेख्य सुधार गर्न नसकिएको उनको भनाई छ ।
क्यानका पूर्व अध्यक्ष तथा चाटर्ड एकाउन्टेन्ट महेश गुरागाँई पनि समितिको अध्यक्षको आकांक्षी हुन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नजिक छन् । मन्त्री अध्यक्ष रहेको नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा गुरागाई सदस्य छन् । उनी नेकपाभित्र पनि पूर्व एमाले निकट हुन् ।
‘अहिले बेला भएको पनि छैन, दौडधूप गर्नु पर्ने मान्छे पनि म होइन’ गुरागाँईले विकासन्युजसँग भने ।
पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा रविन्द्र घिमिरे पनि बीमा समितिको अध्यक्षका आकांक्षी हुन् । बीमा विषयमा विद्यावारिधि गरेका, बीमा विषय नै अध्यापन गर्ने, बीमाको विषयमा अनुसन्धान गर्ने कार्य गर्दै आएका डा. घिमिरे यसअघि पनि बीमा समितिको अध्यक्षको रेशमा रहेका थिए ।
नेपाल बीमक संघको पूर्व अध्यक्ष तथा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् ।
‘बीमा बुझेको र काम गर्न सक्ने मान्छे बीमा समितिको अध्यक्ष भए हुन्थ्यो भन्ने चाहानेले मलाई योग्य देखेका होलान । मेरो नाम लिएका होलान् । तर म दौडधूपमा लागेको छैन’ शाहले भने ।
नेपाल राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेल पनि बीमा समितिकाे अध्यक्षकाे आंकाक्षी हुन् । यसअघि पनि राष्ट्र बैंकका निर्देशक पदमा कार्यरत चिरञ्जीवी बीमा समितिकाे अध्यक्षमा नियुक्त भएका थिए । प्रधानमन्त्रीकाे विश्वासपात्र डा युवराज खतिवडाकाे ज्वाइ भएकाेले खरेलकाे सम्भावना निकै छ । अमेरिकाकाे लागि राजदूत भएर जानुपूर्व खतिवडा आफ्ना ज्वाइलाई कार्यकारी प्रमुख पदमा नियुक्ती दिलाउने साेचमा रहेकाे स्राेतले बतायाे ।
संस्थापक सीईओ समेत रहेका नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक रमेश लम्साल पनि बीमा समितिको अध्यक्षका आंकाक्षी हुन् । बीमा क्षेत्रमा झण्डै तीन दशक काम गरेका उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता बामदेव गौतम लगायत राजनीतिक नेतृत्वसँग निकट छन् ।
हाल नयाँ बीमा कम्पनी खोल्ने कार्य अगाडि बढाई रहेका श्रीमान कार्की पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । उनी बीमा समितिमा कामु कार्यकारी निर्देशकबाट ३ वर्षअघि अवकाश भएका थिए । उनी स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नजिक रहेर नेकपामा सक्रिय रहेको जानकारहरु बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्चका पूर्व अध्यक्ष तथा सीए टंक पनेरु पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । घर पूर्वी नेपाल, पार्टी पूर्व एमाले, निकटता पूर्व प्रधानमन्त्री झलनाथ खनाल भएकोले उनलाई पनि बलियो आकांक्षीको रुपमा हेरिएको छ । यसअघि धितोबोर्डको अध्यक्ष पद खाली हुँदा पनि उनको नाम आएको थियो ।
समितिको अध्यक्ष पद आगामी पुसको अन्तिम साता खाली हुँदैछ । वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईले पुनः सोही पदमा दोहोरिने चाहाना राखेको सुइको पाएपछि प्रतिस्पर्धीहरु उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नेदेखि अदालतसम्म मुद्दा हाल्ने, वर्तमान अध्यक्ष विरुद्ध प्रचारप्रसार गर्ने कार्यमा, गतिविधिमा जोड दिएका छन् ।
‘केही पुराना र असान्दर्भिक विषयहरु उठाएर बीमा समिति र अध्यक्षबारे गलत सन्देश प्रवाह भएका छन् । चुनावका प्रतिस्पर्धीलाई खुइल्याउने राजनीतिक अभ्यास जस्तै देखिएको छ । यो राम्रो भएन’ प्रतिस्पर्धीमध्ये एकले भने ।