काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको ५२ औँ वोर्डस अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा बिहीबार आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गरे ।
उक्त बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको उल्लेख गरे ।
दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने संभावना भएपनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको वताए ।
अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले ईतिहास मै लगातार तेस्रो बर्षसम्म ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफल भएको उल्लेख गरे ।
लगातार उच्चआर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको वताउँदै आगामी दिनमा उच्चआर्थिक बृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने जानकारी दिए ।
बिहीबार नै एसियाली विकास वैंक, युरोपियन लगानी वैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च अधिकारीहरुसंग भएको वेग्लावेग्लै द्विपक्षीय वैठकहरुमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको वारेमा जानकारी गराए ।
नेपालमा उच्च आर्थिक बृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुर्ननिर्माण खास गरी आवास र विद्यालय भवनहरुको पूर्ननिर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान गरे ।
अर्थमन्त्रीसंग भएका ती वैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरु प्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।