काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा तरकारी बजार निर्माण हुनेभएको छ । कृषि मन्त्रालय मातहतको कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको तरकारी बजारको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले शिलान्यास गरेका हुन् ।
काठमाडौँको जनसङ्ख्या न्यून भएको समयमा निर्माण भएको कालिमाटी तरकारी बजार अहिलेपनि केन्द्रीय तरकारी बजारका रुपमा रहेकाले चाप घटाउन विकल्प स्वरुप तारकेश्वरमा तरकारी बजार बनाउन लागिएको मन्त्री खनाले बताए । उनका अनुसार काठमाडौँमा तरकारी बजारको लागि पाँच करोड विनियोजन गरिएको छ ।
सङ्घीयता बनेपछि पनि काठमाडौँको जनसङ्ख्या घट्नुको साटो बढ्दो क्रममा रहेकाले तरकारी बजारको विकल्प आवश्यक भएको मन्त्री खनालले बताए । बजार बनाउन धेरै ठाउँमा जग्गा खोज्दा नपाइएको समेत उनले जानकारी गराए । देशभर ५० तरकारी बजार बनाउन लागिएको जानकारी दिँदै विराटनगरमा १२ करोडको लागतमा तरकारी बजार निर्माण भैइरहेको जानकारी दिए ।
मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बजार निर्माणका लागि सबै सहयोग गर्न तयार रहेको र बजेटको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए । काठमाडौँ प्रवेश गर्ने पाँच नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजना छ ।
काठमाडौँको चोभारमा पनि तरकारी बजार निर्माणाधिन छ । सोह्र रोपनी १५ आना जग्गामा बन्न लागेको तरकारी बजार तीन वर्षमा निर्माण सम्पन्न गरिने जनाइएको छ । तारकेश्वर–५ का वडा सदस्य अनन्त आचार्यले तरकारी बजार निर्माण भएपछि किसानलाई तकारी खरीद बिक्रीका लागि कालिमाटी जानुपर्ने बाध्यता अन्त्य हुने छ ।