
काठमाडौं । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनीको शेयर बिक्री सुरु हुने भएको छ । सरकारले ल्याएको उक्त कार्यक्रम अन्तर्गत छनौट गरिएका १९ जलविद्युत् आयोजनामध्ये पहिलो पटक त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ३७ मेगावाटको त्रिशुली–३ बी आयोजनाका लागि चैत ७ गतेदेखि कम्पनीले ‘कल इन एड्भान्स’ बापतको प्रतिकित्ता १० रुपैंया उठाउन लागेको हो ।
उक्त कम्पनीमा लगानीका लागि लगानीकर्ताले कम्तीमा १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १०,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसो गर्दा उक्त आयोजनामा लगानी गर्न चाहने व्यक्तिले हाल १००० रुपैंयादेखि १ लाख रुपैंयासम्मसम्म आवेदन दिन सक्नेछन् ।
उक्त शेयर चैत ७ गतेदेखि खुला भई छिटोमा चैत ११ गते र ढिलोमा बैशाख ६ गते बन्द हुने कम्पनीले जनाएको छ । उक्त आयोजनाको निर्माण २०७७ फागुन २९ गते सम्पन्न हुने पछिल्लो अनुमान गरिएको छ । आयोजनाको लगानी फिर्ता अवधि ७.९७ बर्ष र ब्याज छुटसहितको लगानी फिर्ता अवधि ११.७२ बर्ष अनुमान गरिएको छ ।
हाल कल इन एड्भान्सका रुपमा आवेदन माग गरिएकोमा आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि ९० प्रतिशत रकम आवेदन माग गर्नेछ । त्यसपछि मात्र आवेदकको डिम्याट खातामा शेयर प्राप्त हुनेछ । जसका लागि १ बर्ष भन्दा बढी समय लाग्नेछ ।