काठमाडौं । पुँजी बजारमा प्यान अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निणर्यको असर बिहीबारको सेयर बजारमा परेको छ । बोर्डले एक विज्ञप्तिमार्फत ५ लाख भन्दा कमकाे काराेबारलाई प्यान ऐच्छिक गर्ने जानकारी दिएपछिको बजारमा एकाएक हिरियाली छाएको छ ।
बिहीबार करिब सवा बजे नेप्से परिसूचक ६.०७ अंकले उकालो लागेर ११५६.१७ अंकमा पुगेको छ । ११५० अंकदेखि कारोबार शुरु भएकाे नेप्से ओरालो लागेर ११४२ अंकमा पुगेको बजार बोर्डको निर्णयले एकाएक उकालो लागेको हो । बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो । यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै सेयर कारोबारमा प्यान अनिवार्य गर्ने निर्णय गरेकाे थियो ।
बिहीबार १ः१५ बजेसम्म कुल १४३ कम्पनीको १२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी यूनाईटेड फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, कारोबारमा आएका सबैसूचकमध्ये उत्पादनमूलक समूह सामान्य अंकले ओरालो लागेको छ भने बाँकी समूह हरिया देखिएका छन् ।