काठमाडौं । अब बीमा कम्पनीले घर जग्गाको व्यवसायिक कारोबार गर्न पाउने भएका छन् । बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिकामा परिमार्जन गर्दै बीमा कम्पनीहरुले घर जग्गाको व्यवसायीक कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
समितिले बुधबार बीमकको लगानी निर्देशिका, २०७५ जारी गर्दै बीमा कम्पनीहरुले आफ्नो कुल टेक्निकल रिजर्भको ५ प्रतिशत रकम व्यवयायीक घर जग्गा कारोबारमा लगाउन पाउने भएका हुन् । त्यसका लागि बीमा कम्पनीहरुले बीमा समितिबाट पूर्व स्विकृति भने लिनुपर्नेछ ।
त्यस्तै, बीमा कम्पनीहरुले अब धितोपत्र बोर्डमा सूचिकृत नभएका अन्य कम्पनीहरुमा समेत लगानी गर्न पाउने छन् ।
यस अघि कुल लगानीयोग्य पूँजीलाई बिभिन्न क्षेत्र तोकेर निश्चित प्रतिशत नबढ्ने गरि लगानी गर्न पाउने व्यवस्था थियो । अब भने कुल टेक्निकल रिजर्भको आधारमा बीमा कम्पनीहरुले लगानी गर्न पाउनेछन् ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बीमा कम्पनीहरुलाई जोखिम व्यवस्थापनका लागि उपयुक्त नयाँ ठाउँहरुमा पनि लगानी गर्ने सुबिधा उपलब्ध गराएको बताए । उनले बीमा कम्पनीका लागि लगानीका परम्परागत गन्तव्य भन्दा माथए उठाएर अर्थतन्त्रमा योगदान पनि दिने र जोखिमको सुरक्षित व्यवस्थापन पनि हुने गरि लगानी निर्देशिका जारी गरेको बताए ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको डिबेञ्चरमा पनि कुल टेक्निकल रिजर्भको २० प्रतिशतशसम्म लगानी गर्न पाउनेछन् । यो बीमा कम्पनीहरुका लागि लगानीको बिलकुलै नयाँ क्षेत्र हो । यस अघि नेपाल पुनर्बीमा कम्पनीले मात्रै डिबेञ्चरमा लगानी गर्न पाउने सुविधा थियो । त्यस्तै, बीमा कम्पनीहरुले कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा प्राप्त भएको छ । यसरी लगानी गरिएका कम्पनीहरु भने पब्लिक हुनुपर्नेछ ।
बीमा समितिले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका लागि एउटै लगानी निर्देशिका ल्याएको हो । यस अघि तिनै प्रकृतिका कम्पनीका लागि लगानीको फरक फरक निर्देशिका र लगानीको सिमा तोकिएकोा थियो ।
यस्तो छ लगानीको नयाँ क्षेत्र र सिमा
नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल टेक्निकल रिजर्भको पाँच प्रतिशतसम्म, बाणिज्य बैंक वा नेपाल पूर्वाधार बैंकमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशत नघट्ने निक्षेप राख्नुपर्ने, घर जग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशत नबढ्ने गरि, नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीको साधारण सेयरमा १० प्रतिशत, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार प्राप्त सेयर( साधारणमा परिणत नहुने) ऋण पत्रमा २० प्रतिशत, सचिकृत डिबेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलश्रोत लगायतका पूर्वाधारमा २० प्रतिशत, नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत, विकास बैंकहरुमा निक्षेपका रुपमा २० प्रतिशत, फाइनान्स कम्पनीमा निक्षेपका रुपमा १० प्रतिशत राख्नुपर्नेछ ।
यस्तो थियो लगानीको पुरानो व्यवस्था
यस अघि जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्र वा सरकारको जमानतप्राप्त ऋण पत्रमा २५ प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेपका रुपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकमा १५ प्रतिशत नबढ्ने गरि र नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइन्थ्यो ।
त्यसबाहेक बाणिज्य र विकास बैंक तथा फाईनान्स कम्पनीहरुको अग्राधिकार प्राप्त सेयरमा १० प्रतिशत लगानीगर्न पाउने व्यवस्था थियो ।
फाइनान्स कम्पनीमा १० प्रतिशत नबढ्ने गरि निक्षेप राख्न पाइने, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशत नबढ्ने गरि, उत्पादनशिल तथा राष्ट्रिय महत्वका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता क्षेत्रका पब्लिक कम्पनीमा ५ प्रतिशत नबढ्ने गरि र कुल लगानीको २ प्रतिशत नबढ्ने गरि इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न सकिने व्यवस्था थियो ।
निर्जीवन कम्पनीले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्र वा सरकारको जमानत प्राप्त ऋण पत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकको निक्षेपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकको निक्षेपमा कुल लगानीको १५ प्रतिशत नघट्ने गरि, नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाउँथे
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि, फाइनान्स कम्पनीको निक्षेपमा १० प्रतिशतनबढ्ने गरि, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लागनीको १० प्रतिशत नबढ्ने गरि र गरी उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रहरु (जलविद्युत, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) मा आधारित पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गर्न सक्थे ।
त्यस्तै, नेपाल पुन र्बिमा कम्पनीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र रबचतपत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेप तथा अल्पकालिन लगानीमा ३५ प्रतिशत नघट्ने गरि, विकासमा बैंकमा निक्षेप १५ प्रतिशत नबढ्ने गरि, नागरिक लगानी कोषको एकाँकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा गरिएको लगानीमा ५ प्रतिशत नबढ्ने गरि र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइने व्यवस्था रहेको थियो ।