काठमाडौं । साताको शुरुदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २० अंकले बढेको सूचक बुधबार १३ अंकले घटेर ११५० अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशत घटी हो ।
मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार कुल १७३ कम्पनीको ३७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा आधा अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि नागरिक लगानी कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन एक करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कोषले बोनस घोषणा गरेसँगै सेयर लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । कोषले बुधबार सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
तर बोनस घोषणापछि काराेबारमा कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १९ रुपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता २६४४ रुपैयाँदेखि कारोबार शुरु भएको कोषको सेयर मूल्य घटेर प्रतिकित्ता २६२५ रुपैयाँमा झरेको छ ।