काठमाडौं । पुँजी बजारका सेयर लगानीकर्ता दबाब समूहले आगामी चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उक्त समूहले अर्थमन्त्रीलाई पुँजीबजार विरोधी भन्दै बर्खास्त गर्ने मूख्य मागसहित सो दिनदेखि चैत १६ गतेसम्म ८ दिने आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
यस समूहले पुँजीबजार सुधार र विस्तारका साथै लगानीकर्ताको लगानी सुरक्षाको गर्न दिएको दबाबलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै एक विज्ञप्तिमार्फत आन्दोलनमा जाने तयारी गरेको जानकारी गराएका छन् । सरकारले गठन गरेको अध्ययन समतिले दिएको ५८ बुँदे सुझाव मध्ये अधिकांश बुँदाहरु नियमनकारी निकायले वेवास्ता गरेकोले सम्पत्तिको सुरक्षा गर्नको लागि आन्दोलनमा उत्रिने निर्णय गरिएको दबाब समूहका महासचिव नयन बास्ताेलाले विज्ञप्तिमार्फत बताएका छन् ।
त्यसमध्ये पनि सरकारको निर्णय अनुसार वैशाख १ गतेदेखि बजारमा प्यान अनिवार्य नभई स्वेच्छिक हुनुपर्ने र साथै, सेयर बजारमा खरिद बिक्री गर्दा लिने क्यापिटल गेन ट्याक्स अन्तिम हो भन्ने प्रष्ट बनाउन लगानीकर्ताको माग रहेको अध्यक्ष हरि ढकालले विज्ञप्तिमा भनेका छन् ।
साथै, धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीले लगानीकर्ताको मागलाई चासो नदिएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको लगानीकर्ता दबाब समूहको गुनासो छ ।
