भरतपुर क्यान्सर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउँदैछाैं : डा. विजयचन्द्र आचार्य

<p>चितवनको भरतपुरमा रहेको विपी कोइराला  मेमोरियल क्यान्सर अस्पतालबाट चिकित्सा क्षेत्रमा करियर सुरु गर्नु भएका डा. विजयचन्द्र आचार्य करिब २ बर्षदेखि सोही अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । नेपालमा रहेका क्यान्सर अस्पतालहरु मध्ये मोफसलमा रहेर पनि उत्कृष्ठ कार्यसम्पादन गर्ने अस्पतालको रुपमा पहिलो स्थानमा आउँछ यो अस्पताल । ७० बिगाहा जमिनमा फेलिएकाे र ७०० भन्दा बढी कर्मचारी [&hellip;]</p>

चितवनको भरतपुरमा रहेको विपी कोइराला  मेमोरियल क्यान्सर अस्पतालबाट चिकित्सा क्षेत्रमा करियर सुरु गर्नु भएका डा. विजयचन्द्र आचार्य करिब २ बर्षदेखि सोही अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । नेपालमा रहेका क्यान्सर अस्पतालहरु मध्ये मोफसलमा रहेर पनि उत्कृष्ठ कार्यसम्पादन गर्ने अस्पतालको रुपमा पहिलो स्थानमा आउँछ यो अस्पताल । ७० बिगाहा जमिनमा फेलिएकाे र ७०० भन्दा बढी कर्मचारी रहेको  यस अस्पतालमा हाल दैनिक ६५० भन्दा बढी बिरामीहरुको उपचार हुँदै आएको अस्पतालको तथ्याङ्क छ । २ बर्ष अघि कार्यकारी निर्देशक बन्नु भएका आचार्यको पालामा १९४ शैयाको अस्पताल ४५० शैयाको बनेको मात्रै छैन, सेवा र गुणस्तरका हिसाबले महँगा र निजी अस्पतालसँग तुलनायोग्य बनेको छ । यसै सन्दर्भमा अस्पतालको स्तरोन्नती, उपलब्ध सेवा, सेवाको गुणस्तर र अस्पतालका भावी योजनाबारे विकासन्यूजका लागि डोमी शेर्पाले कार्यकारी निर्देशक आचार्यसँग गरेको विकास बहस प्रस्तुत गरिएको छ ।


विगतमा कमजोर भनिएको अस्पतालमा तपाईँको नेतृत्वपछि ठूलो सुधार आयो भनिन्छ, तपाईँले गर्नुभएको काम र ल्याउनुभएको सुधार चाहिँ के के हुन् ?

तपाईँले भन्नुभएजस्तै विगतमा अस्पतालको अवस्था कमजोर थियो । व्यवस्थापकीय कमजोरी, सञ्चालक समितिमा रिक्तताको कारण हुने निर्णय प्रक्रियामा ढिलाई र राजनीतिक प्रभावका कारण विगतमा अस्पताल कमजोर बन्न पुगेको हो भन्ने लाग्छ, त्यसैले त्योबेला अस्पताल पूर्ण क्षमतामा चल्न सकेको थिएन ।

कार्यकारी निर्देशकको कार्यभार सम्हालेसँगे मैले अस्पतालमा भएको स्रोतहरुलाई पूर्ण क्षमतामा चलाउन पहल गरेँ । म आएसँगै अस्पतालको सञ्चालक समिति र व्यवस्थापनमा पनि नयाँ नियुक्तिहरु भए । यसरी म सहितको नयाँ व्यवस्थापनले अस्पताललाई चुस्त बनाउने लक्ष्य लिएसँगै दुई बर्षमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको हो ।

अहिले हामीले बिरामीहरुलाई मुख्यतयाः तीनओटा विशेष सेवा दिन सुरु गरेका छौं, सर्जरी सेवा, मेडिकल अन्कोलोजी र रेडियो थेरापी ।
हाम्रो यो सेवा मध्य सबैभन्दा महत्वपूर्ण सेवा रेडियोथेरापी हो। म आउँदाको समयमा हामीसँग रेडियो थेरापी मेसिनहरु बिग्रिएर बसेको अवस्था थियो, जसका कारण बिरामीहरु निजी अस्पतालमा धाउन बाध्य थिए । म आएपछि बिग्रिएका सबै मेसिनहरु बनाइयो, एउटा सिफ्टमा मात्रै चल्ने मेसिन बिहान र बेलुका गरी दूई समयमा चलाउन सुरु गरियो । सोहीअनुसार अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरुको पनि समय व्यवस्थापन गरियो । यसले बिरामीहरुले सहज रुपमा सेवा पाउने अवस्था सिर्जना भयो ।

हामीसँग त्यस्तो मेसिनको अझैसम्म पनि अभाव छ, बिरामीहरुले केही समय कुर्नुपर्ने अवस्था छ, तर यो सामान्यतया विश्वभरकै क्यान्सर अस्पतालसँग तुलना गर्ने हो भने हाम्रो सेवाको उपलब्धता, गुणस्तर र समय राम्रै देखिन्छ। अहिले हाम्रो अस्पताल र प्राइभेट अस्पतालको समेत गरी ६-७ वटा मेशिनमात्र छन् , तर देशको जनसंख्या र बिरामीको चाप अनुसार हामीलाई थप ३० वटा मेसिनको आवश्यक छ।

हाम्रो अन्तरंग सेवा पनि विस्तार भएको छ । अस्पतालको क्षमता अहिले १९४ बाट ४५० शैयामा विस्तार भएको छ । जसको कारण केमोथेरापी गर्नुपर्ने कुनै पनि बिरामीहरु बेड नपाएर फर्कनु पर्ने अवस्था छैन ।  नयाँ भवन निर्माणसँगै यो सेवा थप सहज हुँदै गएको छ, अब बिरामीहरुले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था छैन ।

रेडियो सर्जरी सेवामा पनि पालो कुर्नुपर्ने अवस्था नआओस् भनेर हामीले नयाँ भवनमा अत्याधुनिक प्रविधिका ८ वटा अप्रेसन थिएटर बनाउने क्रममा छौं, त्यसमध्ये दुईवटा बनिसकेका छन् भने बाँकी ६ वटा ३ महिनाभित्रमा तयार हुन्छन् । योसँगै बिरामीहरुले अप्रेसनको लागि पनि पालो कुर्नु पर्दैन ।

हाम्रो अस्पतालमा सेवा सुविधामा लाग्ने रकम सस्तो भएको कारण बिरामीको एकदम बढी चाप छ । नेपालभरि रहेका क्यान्सर बिरामीमध्ये हाम्रो अस्पतालमा आधा भन्दा बढी उपचारका लागि आउने गर्दछन् ।

अरु अस्पताल र भरतपुर क्यान्सर अस्पतालबीच कसरी तुलना गर्नुहुन्छ, बिरामीको चाप र सेवाको गुणस्तरलाई संयोजन चाहिँ कसरी गर्नुभएको छ ?

यो दुईओटा पक्षलाई मिलाउने नै हाम्रो मुख्य चुनौती हो । हाम्रो अस्पताल अन्य प्राइभेट अस्पतालभन्दा निकै सस्तो छ । सस्तो भएकै कारणले हामी कहाँ बिरामीहरुको चाप हुनु स्वाभाविक पनि हो । तर, बिरामीहरु हाम्रो सेवा प्राइभेट अस्पतालले दिएकै समय र गुणस्तरमा दिनुपर्छ भन्ने चाहनुहुन्छ, जुन सम्भव छैन । किनकी धेरै बिरामी भएपछि समय लाग्ने विषय स्वाभाविक नै हो । त्यस्तै एउटै डाक्टरले धेरै बिरामी हेर्नुपर्दा निजी अस्पतालले जस्तो धेरै रेखदेख गर्न नसक्ने अवस्था पनि हुनसक्छ । तर, हाम्रो सेवा र प्रविधिको गुणस्तर कम छैन ।

हामी एउटा राष्ट्रिय स्तरको अस्पताल हौं । यो अस्पताल नेपाल सरकारको अनुदानमा चलिरहेको स्वायत्त संस्था हो । हामीले अबलम्बन गर्ने हरेक प्रकृया नेपाल सरकारको नियम अनुसार नै हुनेगर्छ। यसका आआफ्नै सकारात्मक र नकारात्मक पक्ष पनि छन् । तर, समग्रमा अस्पताललाई हेर्नुपर्दा हामीले यसलाई विशिष्ट ढंगबाट चलाएका छौं।

नेपाल सरकारले तपाईहरुको लागि कति बजेट छुट्ट्याएको छ ? त्यो बजेट कसरी खर्च गरिरहनुभएको छ ?

यसबर्ष सरकारको तर्फबाट अस्पताललाई चालु र पुँजीगत खर्च समेत गरी ३१ करोड बजेट विनियोजन भएको छ । त्यस्तै स्वास्थ्य कर कोषबाट हामीलाई केही रकम प्राप्त हुन्छ । यो कोषमा धेरै रकम जम्मा भएपनि क्यान्सर अस्पतालका लागि अघिल्लो वर्ष ५० करोड विनियोजन भएको थियो, जसमध्ये २५ करोड हामीले पाएका थियौं । यो वर्ष रकम कति प्राप्त हुन्छ भन्ने थाहा छैन । त्यसबाहेक हाम्रो आम्दानी करिब ३० करोड छ ।

हाम्रो बजेटको अवस्था सामान्यतः यही नै हो । अस्पतालको संरचना र बिरामीको चाप पनि बढ्दो छ, साथै हामीले धेरै नयाँ सेवाहरु पनि विस्तार गर्दै लगिरहेका छौं, तर यहाँ बजेट भने घट्दै गईरहेको छ। अस्पताल १८ बर्ष पुरानो भइसक्यो, तर यहाँ अस्पताल मर्मतको लागि एक रुपैया पनि आउँदैन, त्यसैले हामीले हाम्रो आम्दानीको श्रोतबाट अस्पतालको मर्मत गरिरहेका छौं।

अस्पतालले मेरो कार्यकाल भन्दा अगाडि वार्षिक १० करोड बराबरको आम्दानी गरिरहेको थियो भने अहिले अस्पतालले वार्षिक ३० करोड बराबरको आम्दानी गर्दछ । लगभग ३ गुना बढेको छ आम्दानी र यसलाई हामी ४० करोड पुर्याउने लक्ष्यको साथ सबै व्यवस्थित गरिसकेका छौं । हामीले यो लक्ष्य लिनुको कारण हामीलाई नेपाल सरकारबाट कर्मचारीको तलब-भत्ताको लागि एक रुपैया पनि आउँदैन र हामी यस पैसाबाट हाम्रो कर्मचारीहरुला तलब-भत्ता दिदै आईरहेका छौं।

काठमाडौंमा भित्र भएका र बाहिर रहेको अस्पतालमा मानिसहरुले हेर्ने दृष्टिकोणमा कति फरक हुँदो रहेछ ?

यसमा धेरै नै फरक हुँदो रहेछ। उदाहरणको लागि तपाईलाई यस अस्पतालको बारेमा बुझ्न काठमाडौंबाट यहाँसम्म आउनु पर्यो भने तपाईजस्ता अन्य धेरै मानिसहरु छन् , जसले हाम्रो अस्पताललाई नजिकबाट बुझ्न पाउनु भएको छैन । थाहा नपाउँदा यसको सेवा र सुविधाको बारेमा मानिसहरु अनविज्ञ छन् । काठमाडौं बाहिर भएको कारणले गर्दा मानिसहरुको आफ्नो हिसाबले धारणा बनाउनु हुन्छ। हामी यदी काठमाडौंमा भएको भए धेरै मिडियाहरुसँग पनि नजिक हुन्थ्यौ, जसको कारण हामीले आफ्नो बारेमा सुचना र समाचार प्रवाह गर्न पाइरहन्थ्यौं। त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु कि भरतपुर क्यान्सर अस्पतालको बारेमा धारणा बनाउनु भन्दा अगाडि यहाँ आएर भ्रमण गर्नुहोस् ।

अस्पतालले लिँदै आएको शुल्क र दिँदै आएका सहुलियतको बारेमा पनि जानकारी गराइदिनुस् न ?

बिरामीलाई दिने सहुलियतको कुरा गर्नु पर्दा हामीले नेपाल सरकारले दिएको १ लाखको छुट रकम प्रदान गर्दै आइरहेका छौ । सम्भवत: बिपन्नको कार्यक्रमबाट नेपालभरमा सबैभन्दा बढी विपन्नलाई सेवा दिने हाम्रै अस्पताल हो, जसमा वार्षिक २० करोड रुपैयाको हाराहारीमा हामी विपन्न वर्गलाई सेवा दिइरहेका छौं।

खानाको लाईनमा बिरामीहरु

हामी ७० बर्ष भन्दा माथिको मानिसहरुलाई र १५ बर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि प्रकारको उपचार शुल्क लिदैनौं । हामी भर्ना भएका हरेक बिरामीहरुलाई दिनमा चार पटक खाना दिन्छौं, जसको लागि मात्रै अस्पतालले वार्षिक २ करोड खर्च गर्ने गरेका छौं । हामीले यसको लागि बिरामीलाई बेड शुल्क दिनको २०० सय रुपैंया लिने गरेका छौं । हाम्रो २०० रुपैयामा एउटा बिरामी बराबर खानामा १९० रुपैंया खर्च हुन्छ, जसमा १० रुपैंया हामीलाई बाँकी हुने गर्छ ।

हामीले हाम्रो आम्दानीको १० प्रतिशत छुट्टाएर क्यान्सर वेलफेयर सोसाईटी बनाएका छौं । यसमार्फत् हामी आर्थिक अवस्था कमजोर भएकालाई थप छुट दिने गर्छौं । यसका साथसाथै बिरामीलाई बिमा सेवा पनि दिदैँ आएका छौं ।

क्यान्सर रोगको उपचार गर्न खर्च चाहिँ कति लाग्छ ?

क्यान्सरको उपचारको खर्चको कुरा गर्नुपर्दा बिरामीलाई कुन क्यान्सर लागेको हो, त्यस अनुसार खर्च फरक पर्न जान्छ, तर धेरै जसो क्यान्सरको कुरा गर्नु पर्दा हाम्रा यहाँ २ देखी ५ लाखसम्म खर्च हुने गर्दछ। यो अन्य रोग जस्तो एकपटक उपचार गरेर निको हुने रोग होइन, जसकारण सरकारले दिएको १ लाख रुपैंया बिरामीको लागि सानो राहत जस्तो मात्र हुने गरेको छ । यसमा बिरामीले जिन्दगीभर अस्पताल धाइरहनुपर्ने हुन्छ, जसले गर्दा खर्च बढी लाग्ने गर्दछ । तर, यो प्राइभेट अस्पतालको दाँजोमा यहाँ धेरै हदसम्म सस्तो छ ।

अस्पतालमा कुन क्यान्सरको बिरामी बढी आउने गर्छन् ?

सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर र दोश्रोमा फोक्सोको क्यान्सरका बिरामी आउने गर्थे । अहिले भने यिनिहरुको संख्यामा धेरै भिन्नता नभएता पनि सबैभन्दा धेरै फोक्सो क्यान्सरको र दोस्रोमा पाठेघरको क्यान्सरका बिरामी आउने गर्छन् । त्यसपछी आन्द्राका क्यान्सरहरु, कलेजोका क्यान्सरहरु, नाक/कान/घाँटीका क्यान्सर र स्तन क्यान्सरका बिरामीहरु बढी आउने गर्छन्।

बिरामीहरू उपचारमा आउँदा बिरामीको कुन अवस्थामा पुगेको पाइएको छ ?

बिरामीहरु प्रायः सबैतिर धाएर केही पार नलागेपछि मात्र यहाँ आउने गर्छन् , तर बिस्तारै पहिलो स्टेजमै आउनेहरुको संख्या पनि बढ्दो छ । क्यान्सरका स्टेजहरु पहिलो, दोस्रो, तेस्रो र चौथो हुने गर्छ र प्रायजसो बिरामीहरु जनचेतनाको कमी भनौं वा नेपालको अस्पतालप्रति भएको गलत बुझाई अथवा देशमा उपचार नै हुन सक्दै भन्ने बुझाईले भनौं, अझै पनि तेस्रो, चौथो स्टेजमा मात्र बिरामीहरु हामी कहाँ आइपुग्छन्।

हाम्रो देशमा अझै पनि मानिसहरुलाई क्यान्सर भयो भन्न लाज मान्ने, अरुले थाहा पाउलान् कि भनेर उपचारको लागि बाहिर जाने प्रचलन अझै छ। बिरामीहरु नेपालमा उपचार सम्भव छ भनेर सोच्दै सोच्दैनन्, क्यान्सर हुने बित्तिकै पनि आफ्न्त साथीभाइले ए नेपालमा होइन बाहिर जाउ भनेर भन्ने गर्छन् ।

तर, सबैजनाले के बुझ्न जरुरी छ भन्दा अब नेपालका सरकारी तथा प्राइभेट दुवै अस्पताल क्यान्सरको उपचार गर्न सक्षम भइसकेका छन् र त्यसका लागि विदेशिनु पर्ने अवस्था छैन । करिब ५-७ प्रतिशत क्यान्सरका रोगहरु मात्र उपचार हुन सक्दैन र यो संसारको कुनै कुनामा गए पनि सम्भव छैन । मानिसहरु अलि बढी पैसा भयो भने विदेशमा गएर उपचार गरेर आएपछि ठुलो भइन्छ भन्ने सोच्छन् । अर्कोतर्फ कतिपय चिकित्सकहरु आफुले उपचार गर्न नसकेको खण्डमा सीधै विदेश जानु भनिदिन्छन् ।

पहिला भन्दा अहिले क्यान्सर रोगीको संख्या चाहिँ बढ्दै गएको हो ?

यो हुँदै होइन, किनभने पहिला पहिला क्यान्सर पत्ता लाग्दैन थिए । मान्छेहरु मुखबाट रगत आएर मरे, पेट दुखेर मरे भनिन्थ्यो । त्यस समयमा क्यान्सर लागेर मरेको भनिदैन थियो । प्रविधिको विकास भएसँगै अहिले आएर क्यान्सर रोग सजिलै पत्ता लगाउन सकिन्छ ।

त्यही कारणले पनि क्यान्सरको बिरामी बढेको जस्तो देखिएको मात्र हो । हाम्रो जीवनशैलीको कारणले गर्दा कुनै क्यान्सरहरु बढ्ने किसिमको चाँही छन् , जस्तै स्तन क्यान्सर, आन्द्राको क्यान्सर, त्यस्तै पाठेघरको मुखको क्यान्सर रोगीको संख्या पनि घट्दो छ । त्यसैले थोरै घट्बढ चाँही भएको छ, तर समग्रमा हेर्दा क्यान्सरका बिरामीहरु बढेका भने छैनन्।

सरकारले क्यान्सर रोगीका लागि दिने सहुलियत पर्याप्त छ भन्ने लाग्छ तपाईँलाई ? यसमा कस्तो सुधार गर्नुपर्ला ?

मेरो विचारमा क्यान्सर बिरामीलाई पैसा दिएर समस्या समाधान हुनेवाला छैन । यसको लागि सरकारले दुई वटा काम गर्नु पर्छ । एक त रोग लाग्न नदिन अथवा सुरुको स्टेजमै पत्ता लगाउन सक्ने बनाउनु जरुरी छ, जसको लागि जनचेतनाको आवश्यक छ।

त्यस्तै सरकारले जसरी बीमाको कार्यक्रम लिएर आएको छ, त्यस्तै क्यान्सरका बिरामीको लागि पनि सरकारले १ लाख बराबर सुविधा दिनुको साटो त्यति बराबरको प्रिमियम सुविधा दिए त्यसबाट ५/६ लाख रूपैंयासम्मको बीमा गर्न सकिन्छ, जसबाट बिरामीले पनि बढी सेवा पाउँछ र राज्यको लगानी पनि कम पर्न जान्छ ।

अस्पतालको चुनौतीहरु के कस्ता रहेका छन् ?

अस्पतालको चुनौतीको कुरा गर्नुपर्दा अझै पनि उपकरणहरु पर्याप्त छैनन् , त्यसैले सरकारले अझै त्यस्ता मेसिनहरु खरिद गर्न सहयोग गर्नुपर्ने हुन्छ। त्यस्तै यस अस्पताललाई अघि बढाउनुको लागि प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने हुन्छ, जुन हाम्रो एकदमै महत्वपूर्ण चुनौती हो । यसको लागि पनि नेपाल सरकारले पनि पहल गर्दिनु पर्छ । त्यति गर्न सकियो भने हामी यस अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन सक्छौं ।

अस्पतालको अबको याेजना के के छन् ?

सर्वप्रथम त मानिसहरुलाई क्यान्सर सम्बन्धी जनचेतना दिनु पर्छ । जसको लागि हामी विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिमहरु दिँदै आईरहेका छौं । त्यस्तै  हेल्थ क्याम्पहरु पनि ७५ जिल्लामै संचालन गर्दै आएका छौं । आवश्यक जनशक्ति उत्पादन हाम्रो अर्को काम रहेको छ, जसको लागि हामीले भर्खरै नर्सिङ कलेजको स्थापना पनि गरिरहेका छौं । त्यसका साथै क्यान्सरका बिरामीहरुलाई राम्रो सेवा दिने काम हामीले सुरुबाट गर्दै आएका छौं र यसको लागि हामीले सबैभन्दा बढी जनशक्ति राखेका छौं । अब हामीले यसलाई क्यान्सर प्रतिष्ठान बनाउनतर्फ लागिरहेका छौं, जसले गर्दा हामी अझै गुणस्तरीय सेवा दिन सक्छौं।

Share News