काठमाडौं । सरकारले व्यापारिक फर्महरुको अध्ययन गर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनी सुपरस्टोरदेखि नाङलो पसलहरुको एकै पटक अध्ययन गर्न लागेको हो । अध्ययनबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको हिस्सा एकिन गर्न सहज हुने र त्यसमा सुधारका क्षेत्र समेत पहिचान हुने सरकारी दावी छ । अध्ययनका लागि केन्द्रिय तथ्यांक विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ ।

विभाग मार्फत हुने अध्ययनमा ९ हजार साना तथा ठूला व्यापारिक फर्महरु समेटिनेछन् । ‘अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनीदेखि नाङलो पसलसम्मको अध्ययन गर्ने तयारीमा जुटेका छौं ९ हजार फर्महरुमा एकै पटक अध्ययन गर्छाै’, तथ्यांक विभागका निर्देशक जिष्णु मोहन भट्टराईले विकासन्युजसँग भने । अध्ययनबाट अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान पत्ता लाग्ने तथा त्यसमा आवश्यक सुधारका पक्षहरु समेत पहिचान हुने विभागको दावी छ ।
विभागले ३ करोड ५० लाख खर्चेेर प्रदेश तहसम्म पुगेर अध्ययन गर्न लागेको हो । ‘वितरणात्मक व्यापार सर्भे २०७६’ नाम दिईएको अध्ययनले अर्थतन्त्रमा व्यापारको योगदान पत्ता लगाउनेछ । आन्तरिक बजारमा बिक्रि वितरण हुने वस्तुहरुमा स्वदेशी उत्पादन र आयातित वस्तुहरुको हिस्सा पत्ता लगाउन समेत अध्ययन फलदायी हुने निर्देशक भट्टराईले जानकारी दिए ।
त्यसका अलवा सरकारले व्यापारिक क्षेत्रमा आवश्यक सुधार, आन्तरिक उत्पादनमा बढावा दिनुपर्ने क्षेत्र, आयात रोक्नुपर्ने क्षेत्र लगायतको समेत पहिचान खुल्नेछ । व्यापारिक क्षेत्रको उचित व्यवस्थापन र कर आधारहरुको खोजीका लागि पनि अध्ययन फलदायी हुने प्रक्षेपण गरिएको छ ।