काठमाडौं । दुग्ध उत्पादक किसानहरुले आफ्नो ३० अर्ब लगानीमाथी सरकारले खेलबाड गरेको आरोप लगाएका छन् । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको संसोधन मस्यौदामा दुग्ध प्रशोधन उद्योगमा विदेशी लगानी गर्न सकिने व्यवस्था छ । सो व्यवस्थाले दुग्ध उत्पादनका क्षेत्रमा सहकारी र निजी क्षेत्रले गरेको ३० अर्ब लगानी जोखिममा परेको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताए ।
हाल भारतीय मल्टिनेशनल कम्पनी अमुलले नेपालमा दुग्ध प्रसोशन उद्योग सञ्चालन गर्न लागेको छ । सो कम्पनीले भारतबाट दुग्ध ल्याएर प्रसोधन गर्ने भएकाले नेपाली किसानहरु संकटमा पर्ने उनीहरुको निष्कर्ष छ । त्यस्तै, ३ नम्बर प्रदेश सरकारले चीनबाट ४ हजार दुधालु गाई खरिद गर्न सम्झौता गरेको छ । नेपालमा दुधालु गाईहको सहज उपलब्धता हुने भएकाले चिनियाँ गाई ल्याउनु आवश्यक नरहेको उनीहरुको निष्कर्ष छ ।
उनीहरुले उन्नत जातको गाई नभएर ब्रिड भित्र्याउनुपर्ने र प्रसोधन उद्योगलाई मात्रै लगानी गर्न दिनुपर्नेे माग गरेका छन् । हाल नेपाली किसानहरुले बार्षिक २० लाख ८५ हजार मेट्रिकटन दुग्ध उत्पादन गरिरहेको उनीहरुको दावी छ । दुग्ध उत्पादनको क्रम बार्षिक ५ प्रतिशतले वृद्धि भैरहेको पनि संघले जनाएको छ । देशभर १६ सय ७२ वटा दुग्ध सहकारी संस्थामा १० हजारले प्रत्यक्ष रोजगारी पाएका छन भने ११ लाख भन्दा बढी किसानको जिविकोपार्जन भैरहेको छ ।