
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सदस्यहरुलाई सीपमूलक तालिम दिएको छ । आशाले आफ्ना महिला सदस्यहरुको आयस्तर वृद्धि गरी जीवनस्तर उकास्ने अभिप्रायले सदस्यहरुलाई घरेलु सीपमूलक तालिम सञ्चालन गरेको हो । संस्थाले झापाको सुरुङ्गास्थित शाखामा आवद्ध ६२ जना महिला सदस्यलाई गत बिहीबारदेखि शनिबारसमम निःशुल्क रुपमा साबुन बनाउने ३ दिने सीपमूलक तालिम दिएको हो ।
उक्त कार्यक्रममा महिलाहरुलाई साबुन बनाउने मात्र नभई त्यसको बजारीकरण कसरी गर्ने भन्नेबारे समेत तालिम दिइएको संस्थाले जनाएको छ । संस्थाले यसअघि, सर्लाहीको नयाँ रोडमा समेत ६० जना सदस्यहरुलाई लुगाधुने सर्फ बनाउने तालिम दिएको थियो ।
आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखाहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने बताए । यसबाट महिलाहरुको सीप विकास, आर्थिक उपार्जन र क्षमता अभिवृद्धिमा मद्दत पुग्ने उनको विश्वास छ ।
आशा नुवाकोटको ककनीमा मुख्य कार्यालय रहेको संस्था हो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त संस्थाका २८ जिल्लामा ४५ शाखाहरु छन् भने ४० हजार सदस्य यसमा आवद्ध रहेको संस्थाले जनाएको छ । संस्थाको हालसम्म करिब रु. १ अर्ब ५२ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
