
रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याएका छन् । रौतहट जिल्लाको गरूडामा आज नेकपाद्वारा आयोजित प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हरेक घरलाई एक्काइसौँ दृष्टिले विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्य निहित गराइने बताए ।
तराई मधेशको विकास गर्न सरकारले तीन अर्ब ५२ करोडको विशेष परियोजनाको कार्यान्वयनको कार्य गरिरहेको चर्चा गर्दै उनले प्रदेश नं २ लाई विभेद, पछोटेपन र असमानताबाट मुक्त गर्न सडक र हवाईमार्ग, वन, शिक्षा, कृषि, सिँचाइ विकास वातावरण संरक्षण र गरीबी निवारणको परियोजना कार्यान्वयनको तयारी भइरहेको छ भने ।
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग निर्माणको कार्य अर्को निर्वाचनसम्म पूरा गर्न बजेट छुट्याउने कार्य सम्पन्न भइसकेकाले चन्द्रनिगाहपुर–गौरसम्म ४ लाइनको पक्की सडक, गरूडा नगरपालिकामा खानेपानी र चक्रपथ निर्माणको सर्वे र अध्ययन भइरहेको बताए । उनले कृषिको आधुनिकीकरण, कृषि बजार, किसानलाई सस्तो ऋण प्रदान, शीत भण्डारण निर्माणलगायत कार्यलाई सरकारले तदारूकताका साथ अघि बढाइरहेको प्रसङ्ग उल्लेख गरे ।
वीरगञ्ज–पथलैया, कलैया, धनुषा, चोहर्वा–सिरहा, ढल्केवर–जनकपुरधाम, जनकपुरधाम–जटही, जनकपुधाम–भिठ्ठामोड लगायतका विभिन्न सडकलाई ६ देखि ४ लाइनसम्म विस्तार गर्ने, निजगढ विमानस्थल र फास्ट ट्रयाकको कार्य शीध्र हुने, सुनकोशी मरिन, सुनकोशी कमला डाइभर्सन, मदन भण्डारी लोकमार्ग, विद्युतीय रेल, जनकपुरधामबाट रातिमा हवाई जहाज सेवाजस्ता कार्य छिट्टै प्रारम्भ हुने उनले जानकारी दिए ।
प्रदेश नंं २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले सङ्घीय सरकारले यस प्रदेशमा साक्षरता तथा विद्यालय भर्ना अभियान आफैले प्रारम्भ गरेकोमा खुशी व्यक्त गरे । उनले शिक्षालाई गुणस्तरीय बनाउने, रोजगारीमूलक प्राविधिक शिक्षा कार्यमा सबैको अग्रसरतामाथि जोड दिए । आधारहीन राजनीतिको केही अर्थ छैन भन्नु हुँदै प्रधानमन्त्री ओलीले विखण्डनको पक्षमा रहेका सीके राउत पनि संविधानलाई स्वीकार गरी, राष्ट्र मूलधारको राजनीतिमा आइ सकेकाले अब देशलाई समृद्ध गन्तब्यतर्फ लैजानमा सबैको सहयोग आवश्यक छ भने ।
आफूले भारतका प्रधानमन्त्रीलाई भारतले बनाएका बाँधका कारण नेपालको जमीन डुबानमा पर्ने गरेको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले भारतलाई डुबान खोल्नु पर्छ भनी आग्रह गरेको र त्यसको निकट भविष्यमा नै सर्वे कार्यको तयारी भइरहेको बताए । वर्तमान सरकार कसैप्रति वैरभाव, दमन गर्ने नीति नलिएको स्पष्ट गर्दै उहाँले विपन्नताको अन्त्यसँगै प्रदेश नंं २ लाई मुहार फेर्ने विकासमूलक परियोजना प्रारम्भ गर्ने पक्षमा रहेको बताए ।
अब राजनीति साम्प्रदायिकता, भूगोल–भूगोलका लागि गर्ने समय नभएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उनले कम्युनिष्टको एकता मोटाउनका लागि नभई देशमा नमूना विकास लागि भएको छ भने । पार्टी एकता प्रक्रियाको टुङ्गो छिट्टै हुने बताउँदै उनले एकताको बारेमा संशय नगर्न आग्रह पनि गरे । गरीबी र अज्ञानताका कारण कुरीतिले मौलाउने अवसर पाएको चर्चा गर्दै प्रधानमन्त्रीले दुनियाँमा कोही पनि बोक्सी छैन भने ।
प्रदेश नं २ मा सरकार परिवर्तनको हतार छैन: अध्यक्ष दाहाल
यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको छैन भने ।
अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताए । कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उहाँले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताए । रौतहटको भूमि निरंकुशता विरूद्ध विद्रोह गर्ने प्रेरणाको भूमि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तराई मधेशको भविष्यलाई उज्ज्वल पार्न ठूलाठूला परियोजना प्रारम्भ सरकारले गरेको छ भने ।
अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको बताउँदै उनले भने, “अब युगान्तकारी परिवर्तनको वातावरण बनेको छ ।” दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै अध्यक्ष दाहालले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको बताए ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशवादी दलले आफ्नो पार्टीका बारेमा भ्रमको खेती गरीरहे पनि आफ्नो दल जनताको प्यारो दल बन्न पुगेको बताए । यही भूमिबाट नेपालबाट सामन्तवाद विरूद्ध विद्रोह शुरूआत भएको चर्चा गर्दै उनले वर्तमान सरकार मधेशी जनताको उत्थानमूलक कार्य गर्न सङ्कल्पित रहेको छ भने । नेकपाका प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तराई मधेशको विकासका लागि केन्द्रीय सरकारले गरेका प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिए ।