
काठमाडौं । निक्षेप संकलन र कर्जा विस्तारमा सन्तुलन कायम गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशनविपरित वाणिज्य बैंकहरुले उच्च दरमा कर्जा विस्तार गरेका छन् । माघ महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलनको वृद्धिभन्दा कर्जा विस्तारको वृद्धि दोब्बर भन्दा बढी देखिएको छ ।
पुस मसान्त र माघ मसान्तको बैंकहरुको निक्षेप र कर्जा विस्तारको अवस्था हेर्दा उक्त अवधिमा बैंकहरुले २१ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा प्रवाह गरेका छन् । यो करिब २१४ प्रतिशतको वृद्धि हो । उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन २६५० अर्बबाट २६७१ अर्ब पुग्दा कर्जा प्रवाह २३४४ अर्बबाट २३८९ अर्ब पुगेको हो ।
मध्य माघ र मध्य फागुनको कुलना गर्दा भने बैंकहरुको निक्षेप र कर्जा प्रवाह बराबर देखिएको छ । माघ १८ गते २६६० अर्ब रहेको बैंकहरुको निक्षेप फागुन १७ मा २६७७ अर्ब पुग्दा कर्जा २३८१ अर्बबाट २३९८ अर्ब पुगेको हो । यो १७÷१७ अर्बको वृद्धि हो ।
बचत खाताको ब्याजदर मात्रै घट्यो
अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकको आदेशमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाए पनि त्यसको प्रभाव बचत खातामा मात्रै देखिएको छ । माघ महिनामा बैंकहरुको बचत खाताको भारित औसत ब्याजदर ४.४६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झरेको छ । त्यस्तै कल डिपोजिटको भारित औसत ब्याजदर ३.९८ प्रतिशतबाट घटेर ३.८९ प्रतिशतमा झरेको छ ।
मुद्दती खातामा भने पुस मसान्तमा १०.२८ रहेको भारित औसत ब्याजदर माघ मसान्तमा १०.२९ प्रतिशत पुगेको छ । मंसिर महिनामा मुद्दतीको यो दर १०.११ प्रतिशतबाट १०.२८ प्रतिशत पुगेको थियो । बैंकहरुले मंसिर महिनामा १३ प्रतिशतमा दिएको मुद्दती निक्षेपको प्रभावस्वरुप यस्तो अवस्था देखिएको हो ।