काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले धितोपत्र बोर्डलाई जथाभावी बोल्ने काम बन्द गर्न भनेको छ । बुधबार ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधीहरुले हस्ताक्षर गरेको पत्र बोर्ड सञ्चालक समितिलाई बुझाउँदै जथाभावी नबोल्न भनेका हुन् ।
उनीहरुले ब्रोकर डिलर, प्रोपराइटर ट्रेड, शुल्क सहितको परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापनको काम गर्न पाउनुपर्ने माग पनि अघि सारेका छन् ।
ब्रोकरहरुले कुनै गल्ति गरेमा पहिलो पटक सुधारात्मक प्रक्रिया अपनाउनुपर्ने र अन्तिममा मात्रै दण्ड जरिवाना गर्नुपर्ने भनेका छन् ।
प्रदेशमा खोल्न लागिएका ब्रोकर कम्पनी र बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने तर्कको पुष्टि गर्नुपर्ने माग पनि अघि सारेका छन । इन्ट्रा डे कारोबारको सुबिधा दिनुपर्ने, दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।
ब्रोकरहरुले धितोपत्र बोर्डका अध्यक्षलाई नभएर सञ्चालक समितिलाई पत्र लेखेका छन् । विभिन्न २८ बुँदे माग समेटिएको पत्रमा उनीहरुले एक हप्ताभित्र माग पुरा गरेर आफुहरुलाई जानकारी गराईयोस भनेर आदेशात्मक अनुरोध समेत गरेका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग असन्तुष्ठ बनेका ब्रोकरहरुले सञ्चालक समितिलाई पत्र लेखेका हुन् । तर धितोपत्र बोर्डको सञ्चालक समिति अध्यक्ष भने कार्की नै हुन् । पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्स र प्रदेशमा ब्रोकर कार्यालय खोल्ने लगायतका कामबाट कार्की र ब्रोकर कम्पनीहरुका बिचमा दुरी बढिरहेको छ ।