काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लगानी सम्मेलनका साथै भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने बताए । उपराष्ट्रपति कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीसँगको भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरेका छन् । भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताए।
उपराष्ट्रपति पुनले भने, “नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियम लगानीमैत्री बनेका छन्, लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आऊन्, लगानी गर्ने सक्ने छन् ।” उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसिसी) सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँँदै नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वका बारेमा निर्णय लिन सकोस् भन्ने अमेरिकाको धारणा रहेको बताए ।
राजदूत बेरीले “अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताका आकाङ्क्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ” भने । राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताउँदै एमसिसी सम्झौता हुनु यसको प्रमाण जानकारी दिए । नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताए । रासस