
काठमाडौं । १५ औं पञ्चवर्षीय योजनाअन्तर्गत करिब १०० खर्ब खर्च हुने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक आधारपत्रमा सो परिमाणमा बजेट खर्च गर्नेगरी लक्ष्य तथा रणनीतिहरु तर्जुमा गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले वार्षिक बजेटमा औसत १५ प्रतिशत वृद्धि हुनेगरी आगामी योजनामा खर्चको आँकलन गरिएको बताए ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालको बजेट १३ खर्ब १५ अर्बको छ । यसमा औसत १५ प्रतिशतको कम्पाउन्ड ग्रोथलाई आधार मान्दा सिञ्चित खर्च १०० खर्ब नाघ्ने देखिएको हो । आयोगले तयार गरेको उक्त प्रारम्भिक आधारपत्रमाथि छलफल गर्न बुधबार योजना आयोगले राष्ट्रिय परामर्श तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुलाई बोलाइएको समेत उपाध्यक्ष कँडेलले जानकारी दिए ।

पुष्पराज कँडेल, उपाध्यक्ष, राष्ट्रिय याेजना आयोग
योजना आयोगले मन्त्रालयगत बजेटको सिलिङ अर्थ मन्त्रालयमा पठाएको छ । उक्त सिलिङ पनि करिब १५ प्रतिशतकै हाराहारीमा बढाइएको उपाध्यक्ष कँडेलले जानकारी दिए । ‘आयोगको सिलिङ अन्तिम होइन, यसमा मन्त्रालयले आवश्यकताअनुसार थपघट गर्नसक्छ, तर हामीले करिब १५ प्रतिशतको खर्च वृद्धि गर्न सुझाएका छौं, उक्त खर्चले मुद्रास्फीतिको समायोजनसहित दुई अंकको आर्थिक वृद्धि हासिल गर्नसक्छ ।’ कँडेलले भने ।
सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न आयोगले समृद्धिको ४ र सुखको ६ ओटा आधार तयार गरेको छ । समृद्धिअन्तर्गत उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता र उच्च र दीगो उत्पादन तथा उत्पादकत्व जस्ता आधारहरु तयार गरिएका छ ।
त्यस्तै, सुख अन्तर्गत परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सुशासन, सबल लोकतन्त्र र राष्ट्रिय एकता र सम्मानका आधार तयार गरिएको योजना आयोगका प्रवक्ता शिवरञ्जन पौडेलले जानकारी दिए ।
आउला त रेल र पानी जहाज ?
प्रधानमन्त्री केपी ओलीले रेल र पानी जहाजलाई आफ्नो महत्वकांक्षी योजनाका रुपमा अघि सारिरहेका छन् । उनले आगामी पाँच बर्षभित्र रेल र पानी जहाजको सपना पुरा हुने घोषणा गरिरहेका छन् । काठमाडौंलाई चीन र भारतीय रेलवे नेटवर्कसँग जोडेर विश्वका दुई ठुला बजारमा नेपाली उत्पादन बेच्ने बताईरहेका छन् । मेची महाकाली रेल मार्ग मार्फत युरोप र आसियान मुलुकसम्म नेपालको सहज सम्पर्क विस्तार गर्ने ओलीले बताएका छन् ।
उनले कोशी गण्डकी र नारायणी नदिमा पानी जहाज सञ्चालन गर्न भन्दै नेपाल पानी जहाज कार्यालयको उद्घाटन समेत गरिसकेका छन् ।
त्यति मात्रै होइन, केहि समयभित्रै गण्डकी नदिमा पानी जहाज गुडाईसक्ने प्रधानमन्त्रीको योजना छ । आगामी पाँच बर्षभित्र एक सय खर्ब रुपैंयाँ खर्च गर्दा रेल र पानी जहाज आउँछ की आउँदैन त्यो हेर्न भने केहि समय कुर्नै पर्नेछ ।