
काठमाडौँ । यस बर्षको महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा जाम नहुने नभएको छ । त्यसका लागि बातावरण बनाउन पशुपति क्षेत्र विकास कोष लागी परेको छ । अघिल्ला बर्षहरुमा महाशिवरात्रीको समयमा सर्वसाधारणले जामका कारण निकै हैरानी व्यहोर्नु परेको थियो । साथै, अघिल्ला बर्षमा पासको व्यवस्था गर्ने गरेको कारण जाम पर्ने गरेको भएपनि यस बर्षबाट दर्शन पास पूर्ण रुपमा हटाउन लागिएको कोषले बताएको छ ।
पशुपति क्षेत्र विकास कोषका संस्कृती महाशाखा प्रमुख प्रेमहरी ढुङ्गाना भन्छन्–‘यसपालिको महाशिवरात्रीमा हामी सकेसम्म जाम नहुने बातावरणको सिर्जना गर्न प्रयासरत रहेका छौ ।’ उनले अघिल्ला बर्षमा जामको समस्या निकै हुने गरेकाले भक्तजनहरुले समस्या भोग्नु परेको बताए । साथै, भक्तजनहरु भगवानको घरमा आउने भएकाले सकेसम्म कोषले पनि कसैले कुनै किसिमका कष्ट भोग्न नपरोस् भन्ने प्रयासमा जोड दिने बताए ।
महाशिवरात्रीको दिनमा पशुपति परिशर क्षेत्र हुँदै चल्ने यात्रुबाहक गाडीमा कुनै रोकतोक नगरिने भएको छ । सामान ल्याउने टोयटा ट्रयाकसम्मका गाडी समेत सो दिनमा चल्न पाउने छन् । तर, गाडी मन्दिर क्षेत्रमा रोक्न मनाही गरिएको छ ।
गाडी चल्दा हुने असहजताका विषयमा कसरी व्यवस्थापनको तयारी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा पशुपति विकास कोषले आफूले जामको बातावरण सिर्जना हुन नदिने बतायो । कोष भन्छ– विगतमा जाम हुने कुरा सत्य हो, तर यसपालि ठ्याक्कै त्यस्तो अवस्था आउँदैन, लोकल गाडी चढेर आएपनि अथवा आफ्नो गाडी नै ल्याएपनि भयो, तर पार्किङ गरेर बस्न भने पाईदैन । पार्किङ गर्न थाले जाम हुने निश्चित छ, तर हामीले सोही कुरामा कडाई गर्ने तयारी छ ।

शिवरात्रीका दिन यही फागनु २० गते सोमबार सवारी आवागमन बन्द हुँदैन । विगतमा रिङगरोडमा गाडी नचल्दा वृदवृद्धा देखी निकै भक्तजनलाई गाह्रो भएको हामीले पाएका छौँ । यसपालि भने सकेसम्म यस्ता गुनासा नआउन भन्ने हाम्रो चाहाना छ । यसमा हामीले मात्र नभई सम्बन्धित पक्ष सबैले ध्यान पुरयाएमा मात्र यो सम्भव छ–संस्कृती महाशाखा प्रमुख ढुंगानाले बताए ।
ट्राफिक व्यवस्थापन कस्तो हुन्छ ?
सामान्यतया गौशाला चोकमा जाम हुने गर्छ । सोही चोकमा चौबाटो रहेका कारणपनि जाम पर्ने गरेको छ । महाशिवरात्रीको अवसरमा भने यस्तो जाम सकेसम्म न्यूनिकरण गर्न आफूहरु लागि पर्ने काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका एसपी जयराज सापकोटाले बताए ।
महाशिवरात्रीको दिनमा सामान्यतया अन्य बेलामा जस्तै गाडीहरु चल्ने छन् । तर, सर्वसाधारणको भिड अत्याधिक बढेमा गौशला प्रवेश गर्ने सम्पूर्ण बाटोहरुमा रोक लगाईने छ ।
भिडभाड बढेको अवस्थामा चावहिल, सिफल, गौरीघाट, ज्ञानेश्वर, तिलगंगा लगायतका कुनै स्थानबाट सवारी साधन गौशलातर्फ लान नपाईने व्यवस्था गरिने छ । यस्तै, सिनामंगल पूलबाट उत्तरतर्फ होटल महाराजासम्म जाने रुटमा गाडी चलाउन पाईने छैन । जोरपाटी आउने मालबहाक सवारी चुच्चेपाटीसम्म आउन पाउने व्यवस्था रहेको छ ।
पार्किङको व्यवस्था कहाँ ?
महाशिवरात्रीको समयमा तिलगंगामा सवारी पार्किङको व्यवस्था उपलब्ध हुनेछ । यस्तै, सिफल चौर, गुखह्ेश्वरी पारी रहेको बाग्मती करिडोर लगायतका स्थानमा पार्किङको व्यवस्था रहने छ । पुरानो बसपार्कबाट माईतीघर हुँदै सिनामंगल जाने गाडी तिलगंगासम्म पुग्न सक्ने छन् । यस्तै, कालोपुलबाट कपनसम्म चल्ने गाडीहरु शिवरात्रीको दिनमा महाराजगञ्जको रुट प्रयोग गरेर चलाउनु पर्नेछ ।
सवारी पासको के छ व्यवस्था ?
सकेसम्म पास प्रयोग नगरिने भएपनि अत्यावश्यक सवारी साधनलाई सवारी पासको व्यवस्था गरिने छ ट्राफिक महाशाखाले जनाएको छ । पास भएका सवारी नक्साल भगवतीवहाल हुँदै चावहिल निस्किन सक्ने छन् ।
