बैंकहरुले सीईओ नियुक्त र बर्खास्त गर्नुअघि राष्ट्र बैंकको सहमति लिनुपर्ने; उमेर हद ‘६९ बर्ष’

<p>काठमाडौं । बैंक तथा वित्तीय स‌ंस्थाहरुको  प्रमुख कार्यकारी अधिकृत नियुक्त र बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंकसँग सहमति लिनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैकले प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा १ [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय स‌ंस्थाहरुको  प्रमुख कार्यकारी अधिकृत नियुक्त र बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंकसँग सहमति लिनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैकले प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा १ लाई संशोधन र ३ र ४ लाई थप गर्दै प्रमुख कार्यकारीको नियुक्त र बर्खास्त गर्नुअघि केन्द्रीय बैंकसँग सहमति गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । राष्ट्र बैकले उच्च स्रोतका अनुसार यो प्रस्ताव राष्ट्र बैक बोर्डबाट पारित भई अर्थ मन्त्रालयमा पठाएको छ ।

राष्ट्र बैंकले तयार गरेको संशोधन प्रस्तावमा बाफियाको दफा १४ को उपदफा १ मा रहेको ‘सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधिनमा रही बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्त गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोमा ‘राष्ट्र बैंकको पूर्व सहमतिमा’ भन्ने वाक्यांश थप गरेको छ । त्यस्तै साेही दफाकाे उपदफा ५ मा कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखतमा पदबाट हटाउनसक्ने व्यवस्था रहेकोमा त्यसमा पनि ‘राष्ट्र बैंकको पूर्व सहमतिमा’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।

त्यस्तै सोही दफाको उपदफा ३ मा हाल एउटै बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल पूरागरिसकेका प्रमुख कार्यकारी अधिकृत वर्तमान कार्यकाल समाप्त भएपछि स्वतः अवकाश हुने व्यवस्था समेत गरिएको छ ।

हाल केही ठूला समूहको प्रमुख लगानी भएका बैंकहरुमा प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालकहरुले भनेअनुुसार काम नगरेपछि अक्षमताको कारण देखाउँदै बर्खास्त गर्ने प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो । अझ केही बैंकहरुले त क्षमतावान् व्यक्तिलाई सुरुमा प्रमुख कार्यकारी नियुक्त गर्ने र आफ्नो अनुकुलको मान्छेलाई डेपुटी कार्यकारी प्रमुख बनाउने र डेपुटीले क्षमता विकास गरिसकेपछि प्रमुख कार्यकारीलाई अक्षमताको आरोप लगाएर राजीनामा दिन बाध्य पार्ने गरेको तथ्य समेत बाहिर आएको छ ।

उमेरहद ६९ बर्ष !

उक्त प्रस्तावअनुसार ऐन संशोधन भए ६९ बर्षभन्दा बढी उमेरका मानिसहरु प्रमुख कार्यकारी बन्न अयोग्य हुने देखिएको छ । राष्ट्र बैंकले दफा २९को उपदफा ५ थप गरी कुनै पनि कार्यकारी प्रमुख नियुक्त हुँदा ६५ बर्ष पुरा हुन नहुने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले उमेरको अधिकतम सीमा किटान गर्न आवश्यक भएकोले त्यस्तो व्यवस्था गरिएको कारण समेत उल्लेख गरेको छ । प्रमुख कार्यकारी अधिकृतकाे कार्यकाल बढीमा ४ बर्ष ताेकिएकाे परिप्रेक्षमा नियुक्ति हुँदाकाे उमेर बढीमा ६५ बर्ष रहने भएपछि त्यस्तो व्यवस्था लागु भएपछि ६९ वर्षभन्दा बढीका व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी हुन नसक्ने भएका हुन् ।

Share News