काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिए ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो ।
सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहेका थिए ।
छरपस्ट अवस्थामा सात शव फेला
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा शवहरु फेला परेको हो । “हेलिकप्टर भिरमा ठोकिएको रहेछ”, प्रहरी नायब उपरीक्षक भण्डारीले भने, “छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको छ ।”
आज बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली आएको थियो । चुहानडाँडामा कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङ सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको भिरमा हेलिकप्टर दुर्घटनामा परेको हो । रासस