
काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् ।
श्रम ऐन–२०७४, श्रम नियामावली-२०७५ ले निर्दिष्ट गरेको मजदुरको न्यूनतम पारिश्रमिक, महँगी भक्ता, उपचार विमा, दुर्घट्ना विमा, १० प्रतिशत सञ्जय कोष र ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष कट्टा नगरी श्रमिकको शोषण गर्ने उद्योगी र उनीहरुसँग साँठगाँठ गरी मजदुरको रगत कमिशन बनाएर पिउने ट्रेड युनियनका पदाधिकारीउपर कारबाही सुरु गर्दा ईतिहाँसमै कसैलाई नगरिएको ७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानूनी उपचारको लागि अदालत जाने घोषणा गरेका हुन् ।
उनले भने,‘मलाई यस्तोसम्म गरेपछि बाध्य भएर जनतालाई जानकारी दिलाउने उद्देश्य र सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले भ्रष्टाचारको विरुद्धमा सोही कार्यालयको कर्मचारीले पर्दाफास गर्नैपर्ने कानुनी दायित्व पूरा गर्नको लागि पनि मैले आज यो पत्रकार सम्मेलन गरेको हुँ ।’
निजामति सेवा ऐन–२०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गर्दै ७० दिनमा सरुवा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल उपर सोही ऐनको उपदफा (१२) बमोजिम विभागीय कारबाही गर्नुपर्ने समेत सञ्जेलले माग गरेका छन् ।
उनले भने,‘मलाई गरिएको सरुवा नै गैरकानूनी छ । सो सरुवा बदर गरि पाउँ भनेर मैले तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध गरिसकेको छु । यो कुरा मैले खुद प्रधानमन्त्रीलाई समेत जानकारी दिएको छु । तर, आज ६५ दिन बित्दासमेत अहिलेसम्म यसबारेमा कुनै सुुनुवाई भएको छैन् ।’
आफूमाथि सरकारले नै अन्यायपूर्ण व्यवहार गरेको पनि उनले आरोप लगाए । उनले थपे,‘ममाथि गरिएको अन्यायपूर्ण व्यवहारको विरुद्धमा म आज वा भोलिभित्रै सर्वोच्च अदालत जान्छु ।’ उत्प्रेषणको आदेशद्वारा आफूलाई गरिएको सरुवा बदर गरी सचिव महेशप्रसाद दाहाललाई विभागीय कारबाही गर्नु÷गराउनु भन्ने परमादेशको आदेशसमेत नेपाल सरकार, मन्त्रिपरिषद् समेतको नाममा जारी गरी पाउँ भन्ने आफ्नो मूल माग÷दाबी रहेको पनि उनले बताए ।
उनले नेपालमा भ्रष्टाचारले पछिल्लो संस्थागत रुप लिएको दाबी गरेका छन् । उनले भने,‘पछिल्लो समय हाम्रो देशमा भ्रष्टाचारले सस्थागत रुप लिईसकेको छ । अब देशको भविष्यको लागि पनि भ्रष्टाचार ठूलो चूनौति भयो । यसलाई अहिले नै हामीले न्यूनिकरणको प्रयास गरेनौं भने हाम्रो देश असफल राष्ट्र हुन्छ । यो कुरा म अहिल्यै नै ठोकुवा गर्न सक्छु ।’