पौने ३ करोडमा बन्दैछ संसदको क्यान्टिन, भिभिआइपीलाई छुट्टै ठाउँ, हलाल फुड र अपांग मैत्री पनि

<p>काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधा सम्पन्न चमेना गृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले अवको ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी संसद भवनमा चमेना गृह बनाउन शुरु गरेको हो । करिब ९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा ओगट्ने चमेना गृहमा १ सय ८६ जना क्षमताको [&hellip;]</p>

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधा सम्पन्न चमेना गृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले अवको ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी संसद भवनमा चमेना गृह बनाउन शुरु गरेको हो ।

करिब ९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा ओगट्ने चमेना गृहमा १ सय ८६ जना क्षमताको डायनिङ हल निर्माण हुनेछ । क्यान्टिनमा भिभिआईपीहरुका लागि छुट्टै ठाउँ रहनेछ । मुस्लिम समुदायका लागि समेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छा घरको समेत चमेना गृहमा व्यवस्था गरिएको छ ।

कुल २ करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेना गृहको सोमवार शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरे । शिलान्यास गर्दै मत्री राईले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनले अबको ६ महिना भित्रमा निर्माण सम्पन्न नभए ठेकेदार कम्पनी र अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिका कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

मन्त्री राईले भनेः हाम्रो मुलुकमा निर्माणको जिम्मा लिन होडबाजी गर्ने तर समयमै निर्माण सम्पन्न नगर्ने प्रवृति हावी छ, तर अव पनि त्यस्तो प्रबृति दोहरिए सरकारले कडा कारवाही गर्नेछ । समयमै काम गर्नेलाई पुरस्कृत गरिनेर काममा ढिलाई गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको जनाउ दिदै मन्त्री राईले निर्माणका क्रममा गुणस्तरलाई समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले चेमना गृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने बताए । समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले अबको ६ महिना भित्रमा चमेनागृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको गुणस्तर र निर्माणपछि खानाको गुणस्तरमा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Share News