‘स्मार्ट’ बन्दै कलंकी मालपाेत, अब एक घण्टामै जग्गा पास !

<p>काठमाडौं । चैत १ गतेदेखि कलंकी मालपोत कार्यालय स्मार्ट कार्यालयको रुपमा रुपान्तरण हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर रहेका १३१ मालपोत कार्यालयलाई अनलाइज प्रणालीमा जडान गर्दै कलंकीलाई पहिलो नमुना स्मार्ट कार्यालय बनाउन लागेको हो । देशभर रहेका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त हुने कलंकी मालपोतलाई पहिलो चरणमा ‘नमुना स्मार्ट कार्यालय’ [&hellip;]</p>

काठमाडौं । चैत १ गतेदेखि कलंकी मालपोत कार्यालय स्मार्ट कार्यालयको रुपमा रुपान्तरण हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर रहेका १३१ मालपोत कार्यालयलाई अनलाइज प्रणालीमा जडान गर्दै कलंकीलाई पहिलो नमुना स्मार्ट कार्यालय बनाउन लागेको हो ।

देशभर रहेका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त हुने कलंकी मालपोतलाई पहिलो चरणमा ‘नमुना स्मार्ट कार्यालय’ बनाउन लागिएको हो । यसका लागि १० जना प्राविधिक कर्मचारीहरुले दुई सातादेखि काम गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । फागुन महिनाभित्रमा सबै प्राविधिक काम सकिने र चैत १ मा स्मार्ट कार्यालयको उद्घाटन गर्ने तयारी मन्त्रालयले गरेको हो ।

स्मार्ट कार्यालयको अवधारणा लागु भएसँगै हाल गर्दै आएको लेखापढीको प्रावधान हट्ने र आवश्यक जानकारीहरु कम्प्युटरमा इन्ट्रि मात्रै गर्नुपर्ने बताइएको छ । ‘स्मार्ट कार्यालयमा जग्गाको नामसारी वा खरिदबिक्रीका लागि लेखापढी गर्नु पर्दैन, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको स्थान, सम्बन्धित जग्गाधनीको नाम र परिचय खुल्ने विवरण राखेपछि जग्गाको कागजातसम्बन्धी सम्पूर्ण कामहरु कम्प्युटरबाटै हुन्छ । मालपोत अधिकृतको रोहवरमा जग्गाधनीको मञ्जुरीमा अनुहार र औंठाको छापको बायोमेट्रिक गरेपछि सम्बन्धित अधिकारीले नामसारी वा खरिदबिक्रीलाई प्रमाणित गर्ने व्यवस्था गरिनेछ ।’ मन्त्रालय स्रोतले भन्यो ।

स्राेतका अनुसार स्मार्ट कार्यालयकाे व्यवस्था सुरु भएपछि सरकारी अधिकृतले नै आवश्यक कागजातहरुकाे रुजु गर्छन्, कागजात अपुग भए पुर्याएर ल्याउन भन्छन्, नमुना मालपोत कार्यालयमा लेखापढी गर्नेहरुको आवश्यता नै पर्दैन । अब लेखापढीको कामपनि कार्यालयका कर्मचारीले गरी दिन्छन् ।

कंलकी मलपोत कार्यालयका प्रवक्ता पूर्ण केसीले पनि कल‌ंकी मालपाेत स्मार्ट बन्ने क्रममा रहेकाे बताउँदै यसले २०२१ साल देखिका पुराना फाइललाई विस्थापित गरेर डिजिटल प्रणालीमा लगिने बताए । उनले ताेकिएकै दिन स्मार्ट कार्यालयकाे उद्घाटन गर्नेगरी तयारी भइरहेकाे जानकारी दिए ।

स्मार्ट कार्यालयका लागि मन्त्रालयले कल‌ंकी मालपाेतलाई ३१ लाख रुपै‌या बजेट दिएकाे र नपुगे थप रकम दिन मन्त्रालय तयार रहेकाे बताइएकाे छ । स्मार्ट कार्यालय सञ्चालमा आएपछि सेवाग्राहीले सबै प्रक्रिया पूरा गरेर आएको १ घन्टामा मालपाेतसम्बन्धी सम्पूर्ण काम हुनेछ भने हाल ४ वटा तलाबाट हुँदै आएकाे काम एउटै तलाबाट हुनेछ ।

कल‌ंकीमा स्मार्ट कार्यालय बन्दै गर्दा अनलाइन प्रणाली लागु हुन बाँकी ८८ वटा मालपाेत कार्यालय पनि अनलाइन प्रणालीमा रुपान्तरण हुने भएका छन् । हाल देशभरका १३१ मालपोत कार्यालय मध्ये हालसम्म २९ जिल्लाका ४३ कार्यालयमा अनलाइन प्रणाली लागू भैसकेका छन् ।  मन्त्रालयले काठमाडौंको चाबहिल, कलंकी, डिल्लीबजार, साँखु, मनमैजु र टोखा, चितवनको भरतपुर, खैरहनी, चनौली र माडी, कास्कीको पोखरा, लेखनाथ, मकवानपुरको हेटौंडा, शिखरकोट, मोरङको विराटनगर रंगेली, बेलबारी, झापाको भद्रपुर दमक, सुनसरीको धरान इनरुवा, स्याङ्जको स्याङ्जा वालिङ, नवलपरासीको परासी कावासेती, बाराको कलैया सिमरा कार्यालयहरुमा सो प्रणालीको सुरुवात गरिसकेकाे छ ।

यसैगरी, भक्तपुर, ललितपुर, बाँके, धादिङ, बाग्लुङ, काभ्रे, पर्सा, पाँचथर, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, पर्वत, गोरखा, सप्तरी, उदयपुर, धनुषा, तनहँ, रुपन्देही र सुर्खेतको मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरुवात भैसकेको छ । बाँकी सबै कार्यालयहरुमा पनि चैत १ गतेदेखि नै अनलाइन प्रणाली सुरु हुनेछन् । अनलाइन प्रणाली सुरु भएका स्थानहरुमा भने जग्गाकाे काराेबार गर्दा लेखापढी गर्नुपर्छ । लेखापढी गरिएका र अन्य आवश्यक कागजातहरुकाे इलेक्ट्राेनिक कपि तयार गरि सिस्टममा सुरक्षित राखिनेछ ।

Share News