
काठमाडौं । माछापुच्छ्रे बैंकको २२ करोड रुपैंया ऋण असुलीका लागि ऋणीको धितो लिलामीको प्रक्रिया अघि बढ्ने भएको छ ।
ऋण असुली न्यायाधीकरणले न्यू अनिल टेक्सटाइल प्रा.लि.ले लिएको १० करोड ६६ लाख ६२ हजार ४ सय ३९ रुपैंया र त्यसको ब्याज र जरिवानासहितको २१ करोड ८२ लाख २२ हजार ९३७ रुपैंया रकम असुलीका लागि प्रा.लिको बारा र पर्सा जिल्लामा रहेका ४ बिगाहा भन्दा बढी जग्गाको लिलामी गर्ने प्रक्रिया अघि बढाएको हो । त्यसका लागि सम्बन्धित जिल्ला अदालतलाई पत्र काटिसकेको न्यायाधीकरणका श्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए ।
न्यु अनिल टेक्सटाइल प्रालिका सञ्चालकद्धय मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाल हुन् । उनीहरुले उक्त ऋण नतिरेपछि बैंकले न्यायाधीकरणमा प्रा.लिलाई प्रतिवादी बनाउँदै २०७३ बैशाखमा मुद्दा दायर गरेको थियो । न्यायाधीकरणले त्यसको ९ महिनापछि अर्थात् २०७४ माघमा बैंकको पक्षमा मुद्दाको फैसला गर्दै ऋण उठाउनको लागि धितोमा रहेको जग्गा लिलामीका लागि आदेश दिए पनि हालैमात्र सो प्रक्रिया अघि बढेको हो ।
ऋण असुलीमा बैंकले चासो देखाएपछि न्यायाधीकरणले २०७५ पुस १७ गते जिल्ला अदालत बारा र पर्सालाई चलानी नम्बर ४५९५ रहेकाे पत्र काटेको हो । न्यायाधीकरणले पठाएको पत्रको सम्बन्धित जिल्लाका जिल्ला अदालतले जवाफ पठाएपछि न्यायाधीकरणको टोली धितोको मूल्याङ्कनका लागि जाने सेस्त्रेदार कोइरालाले बताए ।
कसरी हुन्छ धिताे लिलामी ?
कुनै पनि बैंक तथा वित्तीय सस्थाकाे ५ लाख रुपैंया वा साे भन्दा माथिकाे ऋण समयमा असुल हुन नसकेमा न्यायाधीकरणमा ऋण असुलीमा लागि मुद्दा दायर गर्नुपर्नेछ । न्यायाधीकरणले बैंककाे पक्षमा मुद्दाकाे फैसला गरेमा धिताे लीलामीकाे प्रक्रिया अघि बढ्ने प्रावधान छ ।
जग्गा तथा अन्य भौतिकको मूल्याङ्कनका लागि न्यायाधीकरणका २ जना, जिल्ला अलालतका प्रतिनिधि, जिल्ला मालपोत कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहितको समितिले मूल्याङ्कन गरी धितोको न्यूनतम मूल्य निर्धारण गरिने व्यवस्था छ ।
मूल्याङ्कन गरिएको रकम नघट्ने गरी लिलाम बढावढ बिक्रीका लागि पहिलेपटक ३५ दिनको समय दिएर बोलपत्र खुल्ला गर्ने र सो अवधिमा विक्री नभए दोस्रोपटक १५ दिन समय दिएर र तेस्रोपटक ७ दिनको समय दिएर बोलपत्र खुला गर्ने प्रावधान छ । त्यति गर्दा पनि उक्त धितो नबिकेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै उक्त मूल्याङ्कनका आधारमा सम्पत्ति सकार्नुपर्ने व्यवस्था छ ।
माछापुच्छ्रे बैंकको ऋण असुली प्रक्रिया पनि साेहीअनुसार अघि बढ्ने बताइएकाे छ ।
यसअघि पनि पक्राउ समेत परेका थिए संञ्चालकद्धय
माछापुच्छ्रे बैंकको ऋण नतिर्ने न्यू अनिल टेक्सटाइल प्रा.लि.का सञ्चालकद्धय मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाल ऋण नतिरेकै अअभियाेगमा यसअघि पनि पक्राउ परेकाे खुलेकाे छ । उनीहरुले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा नतिरेपछि २०७४ चैत ७ गते ऋण असुली न्यायाधीकरणकै आदेशमा उनीहरु पक्राउ परी १ करोड रुपैंया तिरेर ४ महिनापछि रिहा भएका थिए ।
न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एसियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालद्धयको चलअचल सम्पत्ति नभेटिएको भन्दै न्यायधिकरणमा पक्राउ गर्न उजुरी गरेको थियो ।आरोपीमाथी ऋण असुली ऐन २०५८ को दफा २५ उपदफा २ ९ग० र नियम ३० ९क० बमोजिम थुनामा राखी रकम असुली प्रक्रिया अघि बढेको थियो ।