
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ करोड ६ लाख रुपैंया खुद नाफा कमाउन सफल नाडेपले यो वर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैंया मात्र नाफा आर्जन गर्न सफल देखिएको छ । यो करिब ५३ प्रतिशतको गिरावट हो ।
नाडेपको नाफा घट्नुको पछाडि ऋणको सम्भावित जोखिमबापतको प्रोभिजन मुख्य कारण रहेको छ । नाडेपले अघिल्लो त्रैमासमा रहेको ऋणको जोखिमबापतको २५ लाखबाट बढाएर ३ करोड ३३ लाख पुर्याएपछि नाफामा यस्तो गिरावट देखिएको हो । नाडेपको निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेर ४.३४ प्रतिशत पुगेको छ ।
नाडेपले कर्जा प्रवाहको आकार भने उल्लेखनीय वृघि गरी २ अर्ब ३१ करोडबाट बढाएर ३ अर्ब २८ करोड पुर्याएको छ । त्यस्तै सदस्य संख्या पनि अघिल्लो त्रैमासभन्दा करिब ५ हजार जनाले बढाएर साढे ६८ हजार पुर्याएको छ । धादिङको गजुरी मुख्य कार्यालय भएको नाडेपले अघिल्लो वर्ष मात्र सर्वसाधारणलचई आईपीओ जारी गरेको थियो ।