काठमाडौं । पर्यटन क्षेत्र विकासमा निजी क्षेत्र अघि बढेका छन् । पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले स्याङजा, पर्वत र कास्की जिल्लालाई केन्द्रमा राखेर ११ अर्ब, ३८ करोड ३५ लाख रुपैंयाको महत्वकाक्षी योजना अघि सारेको छ ।
रोपवेमा आधारित मोनोकेवल डिचेवल प्यासेन्जर, २२५ होमस्टे, ३० वटा कलात्मक होटेल, ७ वटा रिसोर्ट लगायतका पुर्वाधार निर्माण गर्न कम्पनीले काम सुरु गरेको छ । रोपवे पोखराको घाँटी छिया भन्ने स्थानबाट सुरु भई पर्वतको पञ्चासे तालसम्म ८.५ किलोमिटर हुनेछ । रोपवेको बिचमा २ वटा स्टेशन हुनेछ । रोपवे चढ्नका लागि १५ सय रुपैंया तोकिएको कम्पनीले जनाएको छ । साढे ८ किलोमिटर यात्रा आउन जानको लागि १५ सय तोकिएको हो ।
यसमा यात्रीहरुले ३ सय बराबरको स्थानीय सामाग्री उपहारको रुपमा समेत प्राप्त गर्नेछन् । रोपवे मात्र निर्माण गरेर पर्यटन विकास नहुने कम्पनीको विस्वास रहेको छ । यसको लागि ३ जिल्लाको स्थानीय वासिन्दालाई रोजगारी र प्रत्यक्ष सहभागी गर्न होमस्टे निर्माण गरिनेछ ।
आयोजना निर्माण गर्नको लागि लगानी बोर्डबाट स्वीकृति लिइसेकेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । तीनै जिल्लाको जग्गा अधिग्रहणको काम सकिसकेको छ । पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन आयोजनाले सहयोग गर्ने कम्पनीले विस्वास लिएको छ ।
नेपालकै सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण पश्चात १० हजार नेपालीले रोजगारी पाउने अनुमान गरिएको छ । परियोजनाका लागि धेरै गृहकार्य भैसकेको र निर्माणको चरणमा प्रवेश गर्न लागेको लिमिटेडका अध्यक्ष रामचन्द्र बताए ।
पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए । पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ ।
सबै तहका जनताको लगानी, प्रभावित क्षेत्र पञ्चासे वरपरका साविकका गाविसमा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केबरकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्ने कम्पनीले जनाएको छ ।
८.५ किलोमिटर लामो पञ्चासे केबलकार एक वर्षभित्रै प्रारम्भ हुने कम्पनीले जनाइएको छ । रोपवे निर्माणको लागि ३ अर्ब र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ ।
कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र पैदल यात्रा गरी जाने गरेका छन् । पोखरा २३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन र पर्वतको पञ्चासे तालमा माथिल्लो स्टेशन राखिने कम्पनीले जनाएको छ ।
यसरी उठ्दैछ साढे ११ अर्ब
परियोजनाका लागि संस्थागत, व्यक्तिगत र सामूदायिक सेयरमा विभाजन गरिएको छ । कम्पनीको अध्यक्ष शर्माको अनुसार जो सुकै नेपालीले परियोजनामा लगानी गर्न सक्नेछन् । कम्पनीले व्यवसायी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी र समुदायका मानिसहरुलाई संस्थापक सेयर छुट्याइएको छ । सेयर २० प्रतिशत डाउन पेमेन्टमा अग्रिम लिन सकिन्छ । कम्पनीले संस्थापक सेयरका लागि प्रतिकित्ता १ हजार रुपैंया तोकेको छ । न्युनतम १ सय कित्ता सेयर खरिद गर्नुपर्नेछ । यदि कुनै व्यक्तिले न्यनतम सेयर खरिद गर्न चाहेमा १ लाख रुपैंया तिर्नुपर्नेछ ।

