बायुसेवा निगमको जापान उडान अनिश्चित, हिराचन र याकुजासँगको सम्बन्धमा शंकास्पद

<p>काठमाडौँ । नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति प्रमाण–पत्र (एओसी) पाएपनि अझैसम्म उडान भर्न सकेको छैन । उडानका लागि जापानले सहमति नदिदा उडान अनिश्चित भएको छ । जापानको लागि नेपाल वायुसेवा निगमको जीएसए (जनरल सर्भिस अजेन्ट) नियुक्ती विवादस्पद बनेपछि उडान अनिश्चित बन्दै गएको बताईएको छ । निगमले [&hellip;]</p>

काठमाडौँ । नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति प्रमाण–पत्र (एओसी) पाएपनि अझैसम्म उडान भर्न सकेको छैन । उडानका लागि जापानले सहमति नदिदा उडान अनिश्चित भएको छ ।

जापानको लागि नेपाल वायुसेवा निगमको जीएसए (जनरल सर्भिस अजेन्ट) नियुक्ती विवादस्पद बनेपछि उडान अनिश्चित बन्दै गएको बताईएको छ । निगमले गैर आवासीय नेपाली संघको पूर्व अध्यक्ष देवमान हिराचनको कम्पनीलाई जीएसए दिन लागेको, तर जापानले यसमा असहमति जनाएको बताईएको छ । हिराचनको विजनेश पार्टनरहरु र जापानको अण्डर वल्र्ड भनेर चिनिने याकुजाबीच सम्बन्ध देखिएको जनाउँदै जापानले हिराचनको कम्पनीलाई जिएसए दिन असहमति जनाएको छ ।

क्यानबाट जापान उडानका लागि माघ १८ गते अनुमति प्राप्त गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडान बिस्तारका लागि गृहकार्य गरिरहँदा कन्ट्री म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त गरी जापान पठाइसकेको छ । उनी करिब २ महिना अघि नै जापान गइसकेका छन् ।
नेपाल एयरलाइन्सले क्यानबाट अनुमति पाएपछि यही फागुन १५ गतेबाट नै उडान गर्ने भनेको थियो । तर, जापान नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म स्वीकृति दिएको छैन । त्यसकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले जापानमा कहिलेबाट उडान भर्छ भन्ने अझै निश्चित भएको छैन ।

नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरण जापानमा सबै कागजात बुझाइसकेको बताए । कोइरालाले भने–यही फेब्रुअरी महिना भित्र जापान उडानको अनुमति पाउने संभावना छ ।
निगमका तर्फबाट बुझाइएको कागजपत्र अहिले जापानले अध्ययन गरिरहेको छ । जापानले थप केही कागज माग्न सक्ने वा कागज सबै पुगेमा अनुमति प्रदान गर्नेछ । उनले भने– जापानबाट अनुमति पाएको १ महिना भित्रै उडान भर्ने निगमको तयारी छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडान गर्नेछ ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधान अनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढेको छ, अब जापानका तर्फबाट स्वीकृति आउन मात्र बाँकी रहेको सहायक प्रवक्ता कोइरालाले बताए ।

त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल–ग्वान्जाओ सिधा उठान भर्नका लागि चीनमा पनि कर्मचारी व्यवस्थापन भइसकेको छ । चीनका लागि कन्ट्री म्यानेजरका रुपमा सैलेश कंशाकरलाई नियुक्त गरी पठाइएको छ ।

जापान र चीनका लागि नियुक्त भएका कन्ट्री म्यानेजद्वय पाण्डे र कंशाकारले सम्बन्धित देशका नागरिक त्यहाँको नागरिक उड्डयन प्राधिकरणबाट अनुमतिका लागि संयोजनको काम गरिरहेका छन् । साथै ती देशमा कार्यालय व्यवस्थापन, मार्केटिङ, टिकेटिङ, ट्राभल एजेन्ट नियुक्तिको काम गर्दै आएका छन् ।

जापान र चीनबाट यात्रु पाउलान् त ?

जापानमा नेपालीको वसोबास पनि राम्रै छ, जापानीहरुका लागि पर्यटकीय गन्तव्य पनि हो नेपाल । अहिलेसम्म जापानबाट नेपाल आउनका लागि सिधा उडान एउटा पनि छैन । कि मलेसिया, कि चाइना अथवा थाइल्याण्ड र कोरिया हुँदै नेपाल आउनु पर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा नेपाल–ओशाका सिधा उडान भएको खण्डमा यात्रुको कमी नहुने र यो अवसरलाई सदुपयोग गर्न सकिने निगमका सहायक प्रवक्ता कोइरालले बताए ।

यता, चीनको ग्वान्जाओ उडानका लागि पनि यात्रुको कुनै कमी नहुने उनको भनाई छ । चीन आफैँमा ठूलो देश हो, नेपालीको बसोबास पनि छ । चीनका लागि नेपाल व्यापारिक गन्तव्य पनि हो । अहिले फ्लाइट चार्टर गरेर सामान आइरहेका छन् । ग्वान्जाओबाट चाइना साउथले १ मात्र उडान भर्दै आएको छ । चीनका लागि नेपाल पर्यटकीय गन्तव्यपनि भएका नाताले त्यहाँपनि विमान चलाउन कुनै समस्या नहुने र नेपाल एयरलाइन्स राम्रो चल्यो भने देशलाई पनि राम्रो हुने सहायक प्रवक्ता कोइराला बताउँछन् ।

कहाँ कहाँ भइरहेको छ अन्तर्राष्ट्रिय उडान ?

नेपाल एयरलाइन्सले हाल विभिन्न भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई सहितका ८ गन्तव्यमा उडान भर्दै आएको छ । मलेसियाको क्वालालाम्पुर, हङकङ, बैंकक, दुबई र दोहामा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको सहायक प्रवक्ता कोइरालाले बताए । नेपाल एयरलाइन्ससँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

Share News