
काठमाडौं । विदेशी लगानी रहेकाे दुरसञ्चार कम्पनी एनसेल लक्षित आक्रमणले नेपाली लगानीकर्तालाई चिन्तित बनाएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा परिसंघका प्रतिनिधिहरुले यस्ताे घट्नाकाे कारणा देशमा विदेशी लगानी भित्रन मात्र असर नगरी आन्तरिक लगानीको परिचालनमा समेत असर गर्ने बताएका छन् । उनीहरुले एनसेलको आक्रमणलाई विदेशी लगानी भित्र्याउने सन्दर्भसँग मात्र जोडेर हेर्न नहुने भन्दै यो जनजीवनको सवाल भएको टिप्पणी गरेका हुन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यस्तो घटनाले वैदेशिक मात्रै नभएर स्वदेशी लगानी परिचालनलाई समेत असर पुर्याउने बताए । ‘यस्तोे घटना उद्योग र लगानीको वातावरण बनाउने वा बिगार्नेसँग मात्र सम्बन्धित छैन, यो जनजीवनसँग जोडिएको विषय हो । यस्ता घटनाले जनताको स्वतन्त्रतापूर्वक तरिकाले बाँच्ने अधिकार खल्बल्याउँछ । यसले औद्योगिक वातावरण र वैदेशिक लगानीको आप्रवाहलाई स्वतः घटाउँछ’ अध्यक्ष शर्माले भने ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले घटनाको भर्सना गर्दै यस्ता घटना हुन नदिन र दोषीलाई कारबाही गर्न माग गरे । उनले पनि घटना जेसुकै उद्देश्यबाट निर्देशित भए पनि यो आपराधिक क्रियाकलाप रहेको भन्दै यसले वैदेशिक लगानी भित्र्याउने मात्रै नभएर स्वदेशकै लगानीकर्ताहरुको मनोबल समेत बिगार्ने टिप्पणी गरे
शुक्रबार र शनिबार एनसेलको मुख्यालय लगायत देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमाथि आक्रमण भएको थियो । आक्रमणले बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु लगायतमा जिल्लाका विटीएस टावरहरुमा क्षति पुगेको एनसेलले जनाएको छ । एनसेलले यसबाट कतिपय स्थानमा मोबाइल सेवा समेत प्रभावित भएको बताएको छ ।
कर तिराउन बम आक्रमण : कति विश्वसनीय ?
एनसेल आक्रमणसँगै यो घटनालाइ नेकपा (विप्लव) समूहसँग जोडेर हेरिएको छ । खासगरी सो समूहले एनसेललाई कर तिर्दै अदालतको फैसला कार्यान्वयन गराउन सो कार्य गर्दै आएको टिप्पणी गर्न थालिएको हो ।
विप्लव समूह एक वर्ष अघिदेखि नै एनसेलको विरुद्धमा रहेको थियो । त्यसैले, सोही समूहले नै आक्रमण गराएको अनुमान गरिएको हो । तर यसबारे सुरक्षा निकायका अधिकारीहरुले केही बताएका छैनन् भने घटनाको जिम्मा कसैले पनि लिएको छैन । प्रहरीले घटनामा संलग्न दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको बताएको छ ।
एनसेलको घटना के कारणबाट निर्देशित थियो भन्नेबारे भने उद्योगी र प्रहरी अधिकारीहरुले समेत केही बताउन चाहेनन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको भन्दै पूर्वानुमान गर्नु अनुपयुक्त हुने बताएका हुन् । यद्यपि अदालतको आदेश कार्यान्वयन गराउन कुनै अपराधिक समूहले बम विस्फोट गराएको भन्ने विषय तर्कसंगत नहुने उनीहरुले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंले पनि घटना के कारणले घटाइएको थियो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
सरकारले देशमा राजनीतिक संक्रमणको अन्त्य भएर आर्थिक समृद्धिको युगमा प्रवेश गरेको दाबी गर्दै देशमा पुँजी परिचालन बढाउन वैदेशिक लगानी सम्मेलनको तयारी गरिरहेको छ । यस्तो समयमा विदेशी लगानीको कम्पनीमाथिकै आक्रमणलाई कतिपयले भने लगानी सम्मेलन असफल गराउने नियोजित प्रयासको रुपमा लिएका छन् ।