काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई थप परिस्कृत, गुणात्मक र प्रतिस्पर्धी बनाउन आफूहरु क्रियाशील रहेको बताएको छ ।
बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालका अनुसार सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजारसम्बन्धी सुझाव समितिको प्रतिवेदनअनुसार बजारसम्बन्धी सुझाव कार्यान्वयनका लागि बोर्डले पहल गरिरहेको छ ।
धितोपत्र दलाल व्यवसायीलाई गुणात्मक, प्रतिस्पर्धी बनाई बजार विस्तार गर्ने सन्दर्भमा विद्यमान कानूनी व्यवस्था तथा सरकारको निर्देशनबमोजिम व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने काममा बोर्ड प्रतिबद्ध भएर लागेको छ ।
बैंकको सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायको अनुमतिपत्र दिनेसहितका सुधारका कार्य सम्बन्धित निकायबाट अगाडि बढिरहेको उल्लेख गर्दै बोर्डले सरोकार भएका निकायबीच भ्रम र असमझदारी सिर्जना नहोस् भन्नेतर्फ सजग रहेको उल्लेख गरेको छ ।
सरोकार भएका सबै निकायसँग समन्वय गरी बोर्डले आफ्ना काम कारवाही गर्ने र बजार विस्तारमा प्रतिबद्ध भएर लाग्ने उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायीले बोर्डले नै धितोपत्र व्यवसायीलाई हतोत्साहित गर्ने काम गरेको भन्दै बिहीबार ज्ञापनपत्र बुझाएका थिए । बोर्डका अध्यक्ष एवं पदाधिकारी तथा धितोपत्र दलला व्यवसायीबीच छलफलसमेत भएको थियो । रासस