काठमाडौँ । ललितपुरको नख्खुमा गएराति बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको ज्यान गएको छ । नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ । विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सुरक्षागार्ड गार्डको संलग्नताः प्रहरी
यता, नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी उच्च अधिकारीहरूका अनुसार बम विस्फोट हुनु केही समय पहिले एनसेल टावर अगाडि तीन मोटरसाइकलमा हतियारधारी आएका थिए । उनीहरूले गार्डहरूसँग केही कुरा गरेर निस्किएका थिए ।
सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीका अनुसार हतियारधारी गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए । विस्फोट गराइएको बम प्रेसर कुकर बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती दुवै सुरक्षा गार्ड यसअघि सेनामा काम गरेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीले एनसेल टावरको सुरक्षामा खटिएका व्यक्तिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ ।
रुपन्देही, नवलपरासी र कास्कीपनि आगजनी
यसैबीच, रूपन्देही र नवलपरासीमा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको जानकारी दिए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् ।
यस्तै, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । गएराति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्यालय सिस्वाका डिएसपी मोहनबहादुर खाँडले बताए ।