
काठमाडौं । नेपालमा कुल ४७ प्रतिशत नेपाली मात्र बैंकिङ सेवा प्रयोगमा सक्रिय रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत बचत खाताको सञ्चालनको आधारमा कुल जनसंख्याको उक्त परिमाणकाे जनसंख्या मात्र सक्रिय बैंकिङ प्रयोगर्ताको रुपमा देखाएको हो ।
गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा २ करोड २० लाख बचत खाता खोलिएकोमा १ करोड २० लाख खाता मात्र सक्रिय रुपमा सञ्चालन भएको देखाइएको छ, यो कुल खाताको ५५ प्रतिशत मात्र हो ।
कुल खातामध्ये ग्रामीण क्षेत्रमा खोलिएको खाता बढी सक्रिय रहेको पाइएको छ । ग्रामीण भेगका ७४ प्रतिशत बैंक खाताहरु सक्रिय रुपमा प्रयोग भएको पाइएको देखाइएको हो । त्यस्तै नगरपालिका क्षेत्रमा ५७ प्रतिशत, उपमहानगर क्षेत्रमा ४९ प्रतिशत र महानगर क्षेत्रमा ५० प्रतिशत खाताहरु सक्रिय रहेको पाइएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रमा करिब १६ लाख खाता खोलिएकोमा १२ लाख खाताहरु प्रयोगमा छन् । त्यस्तै नगरपालिका क्षेत्रमा ९८ लाखमध्ये ५५ लाख, उपमहानगर क्षेत्रमा २७ लाखमध्ये १३ लाख र महानगर क्षेत्रमा ७८ लाखमध्ये ३९ लाख बैंक खाताहरु सक्रिय रुपमा प्रयोगमा रहेको देखाइएको हो ।
त्यस्तै मोबाइल बैंकिङका ८३ प्रतिशत, इन्टरनेट बैंकिङका ६२ प्रतिशत, डेविट कार्डका ६८ प्रतिशत, क्रेडिट कार्डका ७२ प्रतिशत र प्रिपेड कार्डका करिब ६६ प्रतिशत प्रयोगकर्ता सक्रिय छन् । तथ्याङ्क अनुसार मोबाइल बैंकिङका ६४ लाख प्रतिशत, इन्टरनेट बैंकिङका ८ लाख ५७ हजार, डेविट कार्डका ५९ लाख ६३ हजार, क्रेडिट कार्डका १ लाख १ हजार र प्रिपेड कार्डका करिब ६४ हजार प्रयोगकर्ता दर्ता भएका छन् ।
काठमाडौंमा एकजनाको ३ खाता, सप्तरीमा ४ जनाको एउटा मात्र
काठमाडौं उपत्यकामा एक जना व्यक्तिको ३ ओटा बैंक खाता रहेको पाइएको छ । काठमाडौंमा कुल १६ लाख ९९ हजार स्थायी वासिन्दा रहेकोमा करिब ५० लाख खाताहरु खोलिएको तथ्याङ्कले देखाएको छ । तर सप्तरी जिल्लामा भने कुल जनसंख्याको २९ प्रतिशत मात्र बैंक खाता छ जुन ४ जनामध्ये एक मात्र हो ।