काठमाडौं । लामो समयपछि मंगलबार हरियाली भएको बजार बुधबार पुनः दोहोरो अंकले घटेर राताम्मे भएको छ । मंगलबार २२.४४ अंकले बढेको बजार बुधबार १२.७७ अंकले घटेर १११२.२३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि दिनानुदिन खुम्चिँदै गएको छ । बुधबारको बजारमा कुल १६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कुल १६२ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सेयर किनबेच भएको छ । हाइड्रोको ९३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, नबिल बैंकको ९० करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा उत्पादन मूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६७ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ८ अंकले बढेको छ ।