काठमाडौं । बेलायतको राजधानीमा लण्डनमा नेपाल विकास सम्मेलनको आयोजना गरिएको छ । चैत १५ र १६ नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनबारे बेलायती लगानीकर्तालाई ब्रिफिङ गर्न नेपाल विकास सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बिशेष सम्बोधन गर्नेछन् ।
फागुन १० गते आयोजना हुने नेपाल विकास सम्मेलनमा वेलायती लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा बिशेष आव्हान गर्ने कार्यक्रम रहेको छ । नेपाली दुतावासले आयोजना गरेको सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले नेपालले वैदेशिक लगानी प्रवद्र्धनका लागि हालसम्म गरेका प्रयास, अब हुने नीतिगत सुधार तथा उपलब्ध लगानीका क्षेत्रबारेमा बिशेष सम्बोधन गर्नेछन् ।
साथै, डा. खतिवडाले गैर आवासीय नेपाली सघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ । नेपाली राजदूतावासमा आयोजना हुने सम्मेलनमा वेलायत सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वन टु वाच संस्थाको समेत सहकार्य रहनेछ । सम्मेलनमा वेलायती संसदका तीन जना माननीय सांसदहरु, काठमाडौंस्थित वेलायती सहयोग नियोगका प्रमुख रुरिक मार्सडेन, वेलायत सरकारका अन्तराष्ट्रिय व्यापार विभागका उप निर्देशक इण्डी म्याक कोब्रेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।