बैंकलाई ब्रोकर लाइसेन्स नदिए देशभर तत्काल २५० शाखा खोल्छौं : भरत रानाभाट

<p>काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरु तत्काल देशभर २५० ओटा शाखा खोल्न तयार भएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै रानाभाटले बैंकलाई लाइसेन्स दिने निर्णय गरेर पुँजी बजार तहसनहस बनाउन खोजिएको भन्दै त्यो निर्णय खारेज गर्न माग गर्दै त्यसो गरिए आफूहरुले देशभर २५० स्थानमा शाखा खोलेर सेवा दिन तयार रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरु तत्काल देशभर २५० ओटा शाखा खोल्न तयार भएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै रानाभाटले बैंकलाई लाइसेन्स दिने निर्णय गरेर पुँजी बजार तहसनहस बनाउन खोजिएको भन्दै त्यो निर्णय खारेज गर्न माग गर्दै त्यसो गरिए आफूहरुले देशभर २५० स्थानमा शाखा खोलेर सेवा दिन तयार रहेको बताएका हुन् ।

रानाभाटले बैंकर र व्यापारी एउटै भएकोले मुद्रा बजारमा समस्यामा परेको भन्दै ब्रोकर र कारोबार हुने कम्पनी एउटै हुँदा यसले पुँजी बजारमा इन्साइडर ट्रेडिङ बढाउने भन्दै अन्ततः यसले पुँजी बजारमा तहसनहस बनाउने दाबी गरेका हुन् ।

‘मुद्रा बजार र पुँजी बजार दुवै पुँजी परिचालनका साधन हुन्, अहिले मुद्रा बजार समस्यामा छ, पुँजी बजारलाई पनि समस्यामा पारेर अर्थतन्त्रलाई नै तहसनहस बनाउने प्रयास भइरहेको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा उनीहरुकै शेयर कारोबार आफैं गर्ने भएकोले यसले इन्साइडर ट्रेडिङलाई बढावा ।’ – उनले भने ।

अर्थ समितिले मंगलबार पुँजीबजारको विद्यमान समस्या समाधान गर्ने सम्बन्धमा सरोकारबालाहरुसँग छलफल आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सरकारले मुद्राबजार तथा पुँजीबजारको समस्या समाधान गर्न समिति गठन गरेर सुझाव बुझाए पनि ५८ बुँदामध्ये पुँजी बजारको सम्बन्धमा शेयर मार्जिन कर्जाको सीमा बढाउने र जोखिम भार घटाउने कामबाहेक केही नगरेको गुनासाे गरे ।

राैनियारले पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याए पनि त्यो अन्तिम हो कि होइन भन्नेबारे केही निर्णय नभएकोले अन्यौलता छाएको बताए । उनले तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत माग गरे ।

पुँजीबजार दबाव समूहका अध्यक्ष हरि ढकालले १० वर्ष अघिको इन्डेक्स र हिजोको इन्डेक्स बराबर रहेको भन्दै यसले देशको विकासको संकेत नगर्ने बताए । नेप्सेप्रति लक्षित गर्दै उनले एकैदिन ५० प्रतिशत मूल्य घटाउदा समेत कारबाही नभएको आरोप लगाए ।

त्यस्तै, नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले नेपालमा १५ लाख भन्दा बढी डिम्याट खाता रहेको र जनसंख्याका आधारमा यो संख्या भारतको भन्दा बढी भएको भन्दै उचित शिक्षाको अभावले नेपाली पुँजीबजारको विकास हुन नसकेको बताए ।

पुँजीबजारको विज्ञका रुपमा आमन्त्रण गरिएका गोपाल भट्टले पुँजी बजारको सूचकमा कुनै समस्या नरहेको भन्दै नियामक निकाय र सरकारमा रहेका व्यक्तिहरुको अनावश्यक अभिव्यक्तिका कारण पुँजी बजारमा पछिल्लो उतारचढाव आएको दाबी गरे ।

नेपाल स्टक एक्सचञ्जका अध्यक्ष चन्द्रसिंह साउदले भने हाल बजारको कुल कारोबारको १२ प्रतिशत हिस्सा अनलाइन ट्रेडिङको भएको भन्दै उपत्यकाबाहिर अनलाइन काराेबारको क्रेज बढ्दै गएको बताए ।

Share News