
काठमाडौं । निक्षेप र कर्जाको विस्तारमा बैंकहरु फेरि असन्तुलित देखिएका छन् । अघिल्लो महिना कर्जा विस्तारभन्दा निक्षेप संकलनको विस्तार बढी देखाएर सन्तुलन कायम गरेका बैंकहरुले तेस्रो त्रैमासको पहिलो महिनामा फेरि असन्तुलन कायम गरेका हुन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २८ वाणिज्य बैंकहरुले पुस महिनामा २१ अर्ब निक्षेप वृद्धि गर्दा ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका हुन् । कर्जा र निक्षेपको वृद्धिदर अनुपात करिब २१४ प्रतिशत हो ।
बैंकहरुले पुस महिनाको अन्त्यमा कुल २६ खर्ब ५० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले माघ महिनाको अन्त्यसम्ममा कुल निक्षेप २६ खर्ब ७१ अर्ब रुपैंया पुर्याएका छन्, जसमध्ये २५ खर्ब ६८ अर्ब रुपैंया नेपाली मुद्रामा र १ खर्ब २ अर्ब रुपैंया बराबरको निक्षेप विदेशी मुद्रामा संकलन गरिएको छ । यो निक्षेप नेपाली र विदेशी मुद्रामै अघिल्लो महिनाभन्दा क्रमशः १४ अर्ब र ७ अर्ब रुपैंया बढी हो ।
त्यस्तै, एक महिनाको उक्त अवधिमा वाणिज्य बैंकहरुले करिब ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका छन् । कुल २३ खर्ब ८९ अर्ब रुपैंया कर्जा लगानी गर्दा २३ खर्ब १५ अर्ब रुपैंया नेपाली रुपैंयामा र ७३ अर्ब विदेशी मुद्रामा ऋण प्रवाह गरेका हुन् । यो लगानी स्वदेशी र विदेशी मुद्रामा अघिल्लो महिनाको कर्जा लगानीको आकारभन्दा क्रमशः ३८ अर्ब र ७ अर्ब विदेशी बढी हो ।
त्रैमासिक विवरण सार्वजनिक गर्नुपर्ने भएकोले त्रैमासको अन्त्यमा सम्हालिने बैंकहरु पहिलो र दोस्रो महिना भने असन्तुलित हुने गरेका छन् । अघिल्लो त्रैमासमा पनि कात्तिक महिनामा असन्तुलित देखिएका बैंकहरु मंसिर र पुस महिनामा ‘करेक्सन’ गरेका थिए, यो त्रैमासमा पनि सोही प्रवृत्ति देखिएको छ । सामान्यतया निक्षेपको ८० प्रतिशत कर्जा वृद्धिले बैंकहरुको व्यवसाय विस्तारलाइृ सन्तुलित बनाउँछ तर गत महिना बैंकहरुले निक्षेपको दोब्बर भन्दा बढी कर्जा प्रवाह वृद्धि गर्दा यसले बैंकिङ क्षेत्रको सीसीडी अनुपातमै चाप पर्ने देखिएको छ ।