
काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा शुल्क बापत ११ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।
बीमा समितिका अनुसार साउनदेखि मंसिर महिनासम्म बीमा शुल्क ९ अर्ब ७६ करोड ९० लाख रुपैयाँ संकलन भएको थियो । पुस महिनामा भने १ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । अग्नि बीमा, मोटर बीमा, सामुद्रिक बीमा, हवाई बीमाबाट सो रकम संकलन भएको हो ।
बीमा समितिका अनुसार साउनदेखि पुस मसान्तसम्म अग्नि बीमा तर्फ २ अर्ब ३८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । मोटर बीमामा ५ अर्ब ५ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ भने सामुद्रिक बीमा बापत १ अर्ब ५९ लाख रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी, हवाई बीमातर्फ ६३ करोड १६ लाख रुपैयाँ संकलन भएको छ । इन्जिनियरिङ बीमामा १ अर्ब ४ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन हुँदा विविध प्रकारको बीमामा १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ संकलन भएको बीमा समितिले जनाएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ भने ५६ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमातर्फ पुस मसान्तसम्म अभिकर्ताको संख्या ३ हजार १ सय ७३ रहेको छ ।
बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्म ६ अर्ब २९ करोड ४७ लाख रुपैयाँ बीमा दाबी भएको छ ।
बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीको संख्या २० रहेको छ । ती बीमा कम्पनीका बीमक कार्यालय संख्या ९ सय ७९ पुगेको छ ।
बीमक कर्मचारीको संख्या ४ हजार ७ सय ८४ रहेको छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी चालु आर्थिक वर्षको १२ अर्ब १८ करोड १९ लाख रहेको छ ।
पुस मसान्तसम्ममा निर्जीवन बीमामा ३० अर्ब ४४ करोड ७२ लाख रुपैयाँ लगानी रहेको बीमा समितिले जनाएको छ ।