काठमाडौं । चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको नयाँ संस्था जन्मिएको छ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको समूहले एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नामक संस्था स्थापना गरिएको हो । नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ ।
नवगठित संस्थाले फागुन ३ गते शुक्रबारका दिन गर्भनर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्य र धितोपत्र बोर्डका अध्यक्ष तथा लगानी बोर्डका अध्यक्षको समेत सहभागितामा सम्मेलन गर्ने र सोही सम्मेलनमार्फत् संस्थाको औपचारिक उद्घाटन गरिने बताइएको छ ।
यो सम्मेलन सीएफए क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु र विद्यार्थीहरु, धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ लगायतका क्षेत्रका प्रतिनिधिहरु समेत गरी करिब १३० जनाको सहभागिता रहने एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले बताए ।
अध्यक्ष डा. शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए । हाल संस्थामा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्र्तराष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तिय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए ।
एशोसियसनअन्तर्गत एडभोकेसी कमिटी, युनिभर्सिटी आउटरिच कमिटी, मेम्बर भ्यालु कमिटी र सञ्चालन तथा बजेट कमिटी गरी ४ ओटा समितिहरु छन् । एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ ।
युनिभर्सिटी आउटरिच कमिटीले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउने, मेम्बर भ्यालु कमिटीले सदस्यमा व्यावसायिक नैतिक आचरणको विकास गर्न र करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि गराउन सघाउनेछ भने सञ्चालन तथा बजेट समितिले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउने एशोसियसनले जनाएको छ ।