काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले बीमा समितिले तोकेको पूँजी कायम गर्न हकप्रद जारी गर्ने भएको छ।
माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनी सचिव बिदुरप्रसाद भुजेलले जनाएका छन् ।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नु परेको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।
कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । प्रस्तावित २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको विशेष साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।
