काठमाडौं । नेपाल टेलिकमले १५ औं वार्षिक उत्सव मनाइरहँदा भर्खरै प्रबन्ध निर्देशक नियुक्त भएका डिल्लिराम अधिकारीले महत्वकांक्षी लक्ष्य प्रस्तुत गरेका छन् । टेलिकम सेवालाई अत्याधुनिक प्रविधिबाट अघि बढाई १ नम्बरको कम्पनी बनाउने निर्देशक अधिकारीले लक्ष्य राखेका छन् । फोरजी सेवा सञ्चालन सम्झौताबाट हौसिएका निर्देशक अधिकारीले घुमाउरो शैलीमा आफ्नो प्रमुख प्रतिस्पर्धी एनसेल नै भएको बताए ।
टेलिकमको पुरानो सेवा प्रणालीलाई सुधार गरी अत्याधुनिक सेवा प्रवाह गर्ने मेरो लक्ष्य हुनेछ । सेवा प्रवाहमा आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले मैले काम अघि बढाएको छु । प्रविधिको तिब्र परिवर्तनसँगै टेलिकमको चुनौति पनि बढ्दै गएको छ । सार्वजनिक संस्थाको अवस्थामा निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था टेलिकमको रहेको छ–प्रबन्ध निर्देशक अधिकारीले भने ।
टेलिकमको मुख्य सेवा भनेको मोबाइल सेवा हो । यसको लागि फोरजी सेवा विस्तारको काम सुरु भैइसकेको छ । यसैगरी ग्राहकको रुचि फेरिन सक्ने अवस्थालाई टेलिकमको मार्केटिङले विशेष ध्यान दिने उनले बताए । १५ वर्षअघि कम्पनी सुरु हुदाँ ग्राहक संख्या ४ लाख २२ हजार रहेको थियो, तर आजको दिनसम्म आइपुग्दा टेलिकमको ग्राहक संख्या २ करोड १० लाख नागघसकेको छ । बजारको माग अनुसार सुलभ सेवा दिनु नै टेलिकमको मुख्य उद्देश्य हो ।
नेपालीहरुको लगानी र नेपाली माटोमै गरिएको व्यवसायिक क्रियाकलापमा सम्पूर्ण ग्राहकहरुले उल्लेख्य रुपमा सहभागिता जनाउनु पर्नेछ । आर्थिक वर्ष २०७४/७५ मा प्रतिशेयर ११६ रुपैयाँले बृद्धि भएको छ । टेलिकमको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले पुरस्कृत र दण्डित गर्ने प्रक्रियालाई निरन्तरता दिइने मंगलबार बार्षिकोत्सव समारोहमा उनले भने ।
यस्ता छन् वार्षिक उत्सवको सुविधा
वार्षिक उत्सवको उपलक्ष्यमा जीएसएम पोस्टपेड ग्राहकलाई ९ सयको प्याकेजमा प्रतिमहिना २ जीवी डाटा र ५ सयको फ्रि रिसोर्स उपलब्ध गराउँदै आएकोमा प्रति महिना ३.३ जीबी र ५ सयको फ्रि रिर्सोर्स उपलब्ध गराइनेछ । माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ जीएसएम पोष्टपेड ग्राहकलाई ३ महिनासम्म अल टाइम डाटा १ जीबी र १ सय मिनेट कल टाइम फ्रि हुनेछ । टुरिष्ट प्याकेज अन्तर्गत ५ सयमा ५जीबी डाटा, ५० मिनेट भ्वाइस कल सेवा र सय रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कल सेवा प्रदान गर्न सरिनेछ ।
यसैगरी, १ हजारमा १० जीबी डाटा, सय मिनेट कल, सय वटा एसएमएस सेवा प्रदान गरिनेछ । माघ २२ देखि चीनको कल सेवामा विभिन्न अफरहरु प्रदान गरिनेछ । यसैगरी, बक्यौता तिर्न बाँकी रहेका ग्राहकले चालू आर्थिक वर्षको अन्त्य सम्ममा बुझाए जरिवाना छुटको व्यवस्था गरिहेको नेपाल टेलिकमले जनाएको छ ।
वार्षिक उत्सव अवसरको उपलक्ष्यमा अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गरेको छ। पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा प्रिपेडमा पनि सुरु गरिएको हो । यो सेवा टेलिकमले सर्वप्रथम भारत र चीनमा उपल्बध गराउनेछ । कम्पनीले पोस्टपेड ग्राहकले यो सुविधा लिँदा लाग्ने धरौटी पनि घटाएको छ।

