
काठमाडौँ । के तपाईँ मदिराको सौखिन हुनुहुन्छ ? विदेशी ब्राण्डका मदिरा सेवन गर्न रुचाउनु हुन्छ ? अब नेपाल सरकारले नै विदेशी ब्राण्डका मदिरा सस्तोमा बिक्री गर्ने भएको छ ।
अवैध रुपमा विदेशीले नेपाल ल्याएका र जफत भएका मदिरा नेपाल सरकाले सस्तो दरमा बेच्न लागेको हो । त्रिभुवन विमानस्थल मार्फत दैनिक रुपमा पर्यटकको आवत जावत हुने गर्छ । सोही आवत जावतकै क्रममा विदेशी पर्यटकले अबैध तरिकाले आफ्नो देशबाट मदिरा ल्याउने गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
यसरी अवैध रुपमा नेपाल ल्याइएका मदिरा नेपाली बजारमा चलेको मूल्य भन्दा सस्तोमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिक्री गर्न लागेको हो । जसले बढी मूल्य तिर्ने कबोल गर्छ उसले मदिरामा दाबी गर्न पाउने छ।
मदिरा खरिद गर्न चाहनेलाई लक्षित गरेर फागुन १६ गते दिउँसो २ बजेदेखि ५ः३० बजेसम्म मदिराको बोलकबोल शुरु हुनेछ । ईच्छुकले किन्न चाहेमा कबोल गरेको रकमको १० प्रतिशत धरौटी तत्काल राख्नु पर्नेछ । धरौटी राखेको ७ दिनसम्मपनि सामान लिन नआएमा जफत हुने भन्सारले जनाएको छ ।
लिलामीमा २ हजार ९ सय बोतल मदिरा
विमानस्थल भन्सारले २ हजार ९ सय १७ बोतल मदिरा लिलामीमा राखेको छ। लिलामीका राखिएको मदिराको मूल्य ६१ लाख ६१ हजार ५५८ रुपैयाँ तोकिएको छ।
१७५ बोतल मदिराको आधार मूल्य ३ लाख १६ हजार ३२५ रुपैयाँ कायम गरिएको छ भने २६६ बोतलका लागि ५ लाख ६१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। भन्सार कार्यालयका अनुसार ३१७ बोतलका लागि ६ लाख ६३ हजार ७८० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी ४६९ बोतलका लागि १० लाख ६५ हजार ४२५ रुपैयाँ आधार मूल्य तय गरिंदा ५८४ बोतलका लागि १२ लाख ७३ हजार ६७८ रुपैयाँ मूल्य तय गरिएको छ । ८४१ बोतलका लागि १८ लाख ६२ हजार १७५ रुपैयाँ मूल्य तोकिएको भन्सार कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ। २६५ बोतलका लागि भने ४ लाख १८ हजार ६७५ रुपैयाँ आधार मूल्य तय गरिएको छ।