काठमाडौं । विदेशी लगानीमा खुलेको दर्जनौ कम्पनीका लगानीकर्ता लगानीको स्रोत खुलाउन नसकेपछि भागेका छन् । लगानीको स्रोत खुलाउन नसक्ने, कम्पनीका बास्तविक मालिख खुलाउन नसक्ने, विदेशबाट नेपालमा रकम ल्याएको प्रमाण पेस गर्न नसक्ने लगानीकर्ता भाग्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विदेशी लगानी भित्र्याउन तथा लेखाङकन गर्न माग गर्दै राष्ट्र बैंक पुगेको १०३ कम्पनी मध्ये ५४ वटा कम्पनीले सरकारले तोकेअनुसारको विवरण पेस गर्न सकेका छैनन् । प्रक्रिया पुरा नहुँदा उनीहरुको फाइल स्वीकृत गर्न नेपाल राष्ट्र बैंक असमर्थ भएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जनाएका छन् ।
अधिकांश कम्पनीले लगानीको स्रोत खुलाउन नसकेको र स्रोत खुलाउने प्रमाण पेश गर्न भनेपछि लगानीकर्ता नै सम्पर्क विहिन भएको राष्ट्र बैंकको भनाई छ ।
विदेशबाट रकम ल्याएको प्रमाण पेस गर्न नसक्ने, स्वीकृत पुँजी भन्दा बढी लगानीको माग गर्ने, बैंक मौज्दात देखाउन नसक्नेहरुलाई पनि राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने तथा लेखाङकन गर्न स्वीकृत दिन नसकेको ढुंगानाले जनाकारी दिए ।
विदेशी लगानी भित्र्याउने तथा लेखाङकन गर्न अनुमति मागेका तर स्वीकृत पाउन नसकेको ५४ कम्पनीको नाम सार्वजनिक गर्दै राष्ट्र ३० दिनभित्र सबै प्रक्रिया पुरा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
निर्देशनअनुसार माग २८ गतेसम्म विवरण नबुझाउने कम्पनीहरुको आवेदन खारेज गरिने छ । आवेदन खारेजीपछि ती कम्पनीहरुले नयाँ प्रक्रिया शुरु गर्नु पर्ने जनाईएको छ ।
डावर नेपाल, हुलास स्टील जस्ता पुराना कम्पनीहरुको पनि लेखाङ्कनमा समस्या देखिएको छ । डाङ्गोटे सिमेन्ट उद्योगले लगानी भित्र्याएको प्रमाण देखाउन सकेको छैन ।
विदेशी लगानी भित्र्याउन माग गर्ने तर प्रक्रिया पुरा गर्न नसक्नेमा कम्पनीहरुमा रियलस्टेट कम्पनी, खानी, उद्योग, होटल, रेष्टुरेन्ट, परामर्शदाता, कलेज, प्रविधि, कार्गो, भाषा सिकाउने लगायत छन् ।
सम्बन्धित ५४ वटा कम्पनीहरुको सूचि हेर्न यहाँ क्लिक गर्नुहास् ।