काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ ।
सधैँ जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बजार पूँजीकरण एक खर्ब नौ अर्ब ३५ करोड बराबरको रहेको छ ।
यस्तै, नवील बैंक बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैंकको ६७ अर्ब ६० करोड ४६ लाख बराबरको बजार पूँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ अर्ब ८३ करोड ८५ करोड रहेको छ ।
स्ट्याण्र्डड चार्टड बैंकको ४५ अर्ब २६ करोड ६४ लाखको बजार पूँजीकरण हुँदा एभरेष्ट बैंकको ४२ अर्ब ६ करोड छ । हिमालयन बैंकको ३८ अर्ब १७ करोड, एनआइसी एशिया बैंकको रु ३४ अर्ब ५४ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब १९ करोड र एनएमबी बैंकको ३० अर्ब ४८ करोड बराबरको बजार पूँजीकरण रहेको छ ।
बजार पूँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ ।
यस्तै स्टकमा यस साता नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्स कम्पनीको शेयर लाभांश सूचीकृत भएका छन् । कोषको चार लाख आठ हजार २२५ कित्ता, महालक्ष्मीको २१ लाख सात हजार ३७ कित्ता र पोखरा फाइनान्सको १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस