काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदिएपछि ब्रोकर र लगानीकर्ता उत्साहित भएका छन् । स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबारले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । ‘हामीले लामो समयदेखि मार्जिन कारोबार मागिरहेका थियौं, अब कार्यान्वयनको चरण आरम्भ भएको छ, यसले बजारमा सकारात्मक प्रभाव पार्छ’, रानाभाटले भने ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि मार्जिन कारोबारले बजारमा राम्रो प्रभाव पर्ने धारणा राखे । ‘यो सेयर बजारका लागि सुखद सन्देश हो, अब बजारमा राम्रो प्रभाव पर्छ’, फुल्लेले भने । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनले सेयर बजारमा उत्साह थपिने बताए
। यद्यपी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मार्जिन कारोबारका लागि बाटो खुलाउनै बाँकी रहेको उनले बताए । ‘मार्जिन कारोबार कार्यान्वयनमा आउँदा बजारलाई राम्रो गर्छ, अब केन्द्रिय बैंकले चाँडै बैंकलाई अनुमति दिनु पर्छ’, फोरमका महासचिव लम्सालले भने ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मराहरी पराजुलीले
मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नेप्से तयारी अवस्थामा बसेको बताए ।‘कार्यबिधी अनुसारको तयारी नेप्सेले गरेको छ, बोर्डको पत्रको पत्र आएपछि कार्यान्वयनमा जान्छौं ।’, नेप्सेका प्रवक्ता पराजुलीले भने
।
तारा प्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ
ढिलै भए पनि मार्जिन कारोबार सम्बन्धी धितोपत्र बोर्डको निर्देशन राम्रो आयो । बजारलाई ब्याजदर छोड्ने कुरा पनि ठिक छ । यो मार्जिन कारोबारको सुरुआती चरण हो । यसलाई समयसँगै विकास गर्दै जानुपर्छ ।
समझदारीमा ब्याजदर तोक्ने कुराले ब्रोकरको मनोमानी भयो भने धितोपत्र बोर्डले हस्तक्षेप गर्ने भनेको छ । समयसँगै यसका प्रावधानहरुलाई परिमार्जन गर्दै जान सकिन्छ ।। मार्जिन कारोबारबाट बजारमा राम्रै प्रभाव पर्छ । पाँच करोड चुक्ता पुँजी भएका ब्रोकरले त्यसको दुई गुणासम्म मार्जिन कारोबार गर्न पाउने भन्ने व्यवस्था छ । ब्रोकरहरुको क्षमता बढाउँदै यसको दायरा पनि बढाउँदै लैजानुपर्छ ।
राजन लम्साल, महासचिव, नेपाल इन्भेष्टर्स फोरम
मार्जिन कारोबार भनेको बजारका लागि नयाँ अवसर हो । यसले लगानीकर्ताको मनोवल बढाउँछ । तर बजारमा तरलताको चरम अभाव भैरहने अवस्था छ । बैंकहरुले ब्रोकरलाई कति पैसा दिन सक्छन भन्ने ठेगान छैन् । फेरी ब्रोकरहरुले पनि केहि मार्जिन त राख्नै पर्छ ।
बजारमा पर्याप्त तरलता भयो भने चाँही यसले राम्रै काम गर्छ । तै पनि मार्जिन कारोबारले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन भने राम्रै भूमिका खेल्छ ।
भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल
मार्जिन कारोबार त हामीले धेरै समय पहिलेदेखि मागिरहेको कुरा हो । धितोपत्र बोर्डले बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंक त पहिले देखि नै सकारात्मक नै थियो । बजारले ब्याजदर तोक्ने कुरा झनै राम्रो हो । यसले बजारलाई समयको आवश्यकता अनुसार विकास गर्दै लैजान सहयोग गर्नेछ ।
मार्जिन कारोबार कार्यान्वयनमा आएको दिन देखि बजारमा राम्रो सन्देश जान्छ । बजारमा लगानीका लागि थप पुँजी उपलब्ध हुन्छ ।