काँठमा नयाँ शहर: जग्गाधनी विस्थापित हुनु नपर्ने, नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने

<p>काठमाडौं । परामर्शदाताहरुले काँठमा बन्ने ४ शहरको प्रारम्भिक प्रतिवेदन बुझाउन थालेका छन् । उपत्यकामा व्यवस्थित बस्ती विकास गर्नका लागि विभिन्न चरणमा अध्ययन भैरहेको छ । प्रारम्भिक चरणको अध्ययनमा सकारात्मक प्रतिवेदन आएको काठमाण्डौ उपत्यका विकास प्राधिकरणका कामु नायब विकास आयुक्त तथा आयोजना प्रमुख दिलिप पौडेलले बताए । नायब विकास आयुक्त पौडेलका अनुसार परामर्शदाताहरुले फिजिबिलीटीको प्रतिवेदन तयार [&hellip;]</p>

काठमाडौं । परामर्शदाताहरुले काँठमा बन्ने ४ शहरको प्रारम्भिक प्रतिवेदन बुझाउन थालेका छन् । उपत्यकामा व्यवस्थित बस्ती विकास गर्नका लागि विभिन्न चरणमा अध्ययन भैरहेको छ ।

प्रारम्भिक चरणको अध्ययनमा सकारात्मक प्रतिवेदन आएको काठमाण्डौ उपत्यका विकास प्राधिकरणका कामु नायब विकास आयुक्त तथा आयोजना प्रमुख दिलिप पौडेलले बताए । नायब विकास आयुक्त पौडेलका अनुसार परामर्शदाताहरुले फिजिबिलीटीको प्रतिवेदन तयार गरिरहेका छन् ।

व्यवस्थित बस्ती विकासका लागि उपत्यका विकास प्राधिकरणले ४ शहरको काम गरिरहेको छ । अहिले जग्गा क्षेत्र निर्धारणको काम भइरहेको छ । शहरको कुन क्षेत्रमा कस्ता खालका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ भनेर अध्ययन भैरहेको प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए ।

नयाँ शहर बन्दा जग्गा धनि विस्थापित हुनु नपर्ने

शहर विकास आयोजनाको योजना अनुसार नयाँ शहर बन्दा एक जनापनि विस्थापित हुनु नपर्ने आयोजना प्रमुख पौडेलले बताए । उनका अनुसार शहर विकासका लागि अहिले जनस्तरमा छलफल भैरहेको छ । आयोजना क्षेत्रमा पर्ने १ वा २ आना जग्गा हुने व्यक्तिलाई पनि अर्को स्थानमा जग्गा मिलाउने गरी काम भैरहेको छ ।

आयोजनामा पर्ने सडक, ढल, पार्किङ, पार्क, अस्पताल लगायत पूर्वाधार विकासका लागि कति प्रतिशत जमिन कटौती गर्ने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको छ । यस्ता पूर्वाधारमा पर्ने थोरै जग्गा हुने व्यक्ति जग्गा परेमा त्यस्ता व्यक्तिलाई अरु स्थानमा जग्गाको व्यवस्थापन गरिनेछ । आयोजना क्षेत्रमा भने हाल कित्ताकाट गर्न प्रतिबन्ध लगाइएको छ । कुनै व्यक्तिले पहिलेकै कित्ता अनुसार भने जग्गा किनबेच गर्न पाउनेछ ।

नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने
४ शहर विकास भैसकेपछि हरेक घडेरीमा विजुली, पानी, सडक, पार्क, पार्किङ, विद्यालय इत्यादिको विकास हुनेछ । यसले उपत्यकामा मानिसको चामलाई सन्तुलन गर्ने प्राधिकरणको विस्वास रहेको छ । उत्कृष्ट स्वदेशी तथा विदेशी परामर्श दाताहरुले अध्ययन गरी प्लानिङ गरिएको घडेरीले राम्रो मूल्य पाउन सक्ने विस्वास गरिएको छ ।

परामर्शदाताहरुले आगामी भदौसम्म अन्तिम प्रतिवेदन बुझाउनेछ । प्रतिवेदन तयार भएपछि प्राधिकरणले बिस्तृत योजना सहित शहरी विकास मन्त्रालयमा पेश गर्नेछ । यसपछि मन्त्रालयले थप अध्ययन गरी मन्त्रिपरिषदमा पेश गर्नेछ । यदि मन्त्रालयबाट पेश भएमा शहरमा पूर्वाधार विकासको काम अघि बढ्नेछ ।

यस्ता छन् नयाँ बन्ने शहरहरु:

काठमाडौं आग्नेय
भक्तपुरमा निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकबाट सूर्यविनायक मन्दिर अगाडिको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिमतर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । यो शहरको डिपीआर इआरएमसी एनइएसटी एडीए जेभीले निर्माण गरिरहेको छ ।

काठमाडौं नैऋत्य
१० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भू–भागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पूर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । यो शहरको डीपीआरको काम इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीले गरिरहेको छ ।

जेभी कम्पनीले १ वर्षभित्र डीपीआर सक्ने गरी सम्झौता गरेको छ । ‘डिपीआर निर्माणका लागि प्रधिकरणले २ करोड रुपैंयाँ छुट्याएको छ । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ ।

इशान काठमाडौं
यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरिरहेको छ ।

काठमाडौं उत्तर
यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पूर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यो शहरको वृस्तिृत योजना प्रतिवेदन डीपीआर फुल ब्राइट कम्पनीले बनाइरहेको छ ।

कम्पनीले १ वर्षमा आयोजनाको प्रतिवेदन तयार पारी बुझाउने प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । उनका अनुसार कम्पनीसँग प्राधिकरणले १ करोड ४२ लाखमा डीपीआर निर्माण गर्ने सम्झौता भएको छ ।

Share News