काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ ।
मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ ।
अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।