काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारबारे ‘पूँजी बजारको विस्तार गरि आन्तरिक लगानी परिचालनलाई गतिशिल बनाइनेछ ।’, लेखिएको छ । पूँजी बजार सम्बन्धी सरकारको आधिकारीक धारणाबारे लगानीकर्ताले भने मिश्रित प्रतिक्रिया दिएका छन् । त्यति मात्रै होइन, गतिशिल पूँजी बजारबारे सेयर बजारका पण्डितहरु नै अन्यौलमा देखिएका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उत्साह व्यक्त गरे । सरकारले ल्याएको निती तथा कार्यक्रमले पूँजी बजारको दिर्घकादिन विकास र विस्तारलाई समेटेको दावी गरे । उनीले अब सेयर बजारमा स्वर्णिम युग सुरुहुने दावी समेत गरे । ‘पहिलो पटक सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारलाई यति प्रष्ट भाषामा समेटेको छ, यसले अब सेयर बजारमा स्वर्णिम युगको आरम्भ हुने अपेक्षा गरेका छौं’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।
उनले अनलाईन कारोबार सुरु हुनै लागेको, एनआरएनहरुको प्रवेशबारे गृहकार्य भैरहेको र सरकारले नीति तथा कार्यक्रमबाटै सेयर बजारको विकास र विस्तारमा ठोस काम गर्ने बताउनुलाई निकै सकारात्मक रुपले लिएको बताए । सेयर बजारका जानकार ज्योति दाहालले भने गतिशिल बनाउने भन्ने शब्दावली नै बहुअर्थी रहेको बताए । उनले सरकारको निती तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने तात्विक कारण नरहेको पनि बताए । यद्यपी रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र ऋण पूँजी संकलन(डिबेञ्चर र बण्ड) जारी गर्ने तर्फ नीति तथा कार्यक्रमले संकेत गरेको उनको बुझाई छ ।
इन्भेष्टर्स फोरमकै महासचिव राजन लम्सालले पनि नीति तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने कारण नभएको बताए । ‘गतिशिल बनाउने भनेको के हो ? पुँजी बजार त सधै गतिशिल नै हुन्छ, यो अमुर्त कुरा भयो, लगानीकर्ता उत्साहित हुनुपर्ने ठोस कारण छैन, अब हामी बजेटलाई कुर्नुको विकल्प छैन’, महासचिव लम्सालले भने ।